उत्पादनकेन्द्रित कार्यक्रमको प्रशंसा गरेका सांसद थापालाई नेकपाकाे हेडक्वाटरमा स्वागत
दाङ । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं सांसद सूर्य थापाले पुस ३ गते बिहान विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीको प्रशंसा गर्दै फेसबुकमा एउटा स्टाटस लेखे ।
उनले फाेटाे राखेर लेखेका थिए “नेपाल कम्युनिस्ट पार्टी(महासचिव– नेत्रविक्रम चन्द)को केन्द्रीय समितिको पछिल्लो बैठक – आफ्नै गार्मेन्टमा सिलाइएको ड्रेस कोड(सर्ट, पाइन्ट र कोर्ट) मा गरिएको दृश्य नौलो लाग्यो ! हरेक पार्टीका आ-आफ्नै प्रकारका मौलिकता, नविनता र उत्पादनकेन्द्रित प्रयोग/ परीक्षण हुँदा बेग्लै प्रकारको प्रतिस्पर्धा सिर्जना हुँदो हो कि ?”
थापाले ‘आफ्नै गार्मेन्टको कपडा तथा आफ्नै सहकारी खेतीको अन्न, मासु, माछा, कुखुरामा आत्मनिर्भर भएपछि पार्टी पङ्तिको भरणपोषणका लागि सायद पछिल्लो समय चन्दामा निर्भर हुनुपरेको छैन होला’ भन्नेर आफ्नो स्टाटसमा उल्लेख गरे ।
थापाको स्टाटसमा थियो,“सिक्न सकिने यस्ता उदाहरण र दृष्टान्तहरू अनेकका अनेक हुनसक्छन् ! यस्ता अनुकरणीय दृष्टान्तलाई एकीकृत, पूँजीकृत र अवलम्बन गरिनु उचित हुन्छ ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको नेतृत्व गर्दा मैले ‘सी कोअपरेटिभ’को बारेमा सुनेपछि सो पार्टीको धारणा पनि पठाउन पत्राचार गरेको थिएँ र महासचिव चन्द स्वयं सहकारी विभागको इन्चार्ज रहेर देशव्यापी कार्यक्षेत्र रहेको बहुउद्देश्यीय सहकारी दर्ता एवं सञ्चालनमा समेत रहेको जानकारी पाएको थिएँ ।”
उनले भनेका थिए,“सहकारी खेती र उत्पादनकेन्द्रित कोशिस पनि त्यतिबेलै अवगत भएको थियो । पोलिटव्युरो सदस्य दिनेशविक्रम चन्द र मेराबिच केही पटक भेटघाट र कुराकानी भएको थियो । आज आफ्नै गार्मेन्टको समाचार सुनेर झन् खुशी लाग्यो ।”
नेकपा पछिल्लो समय उत्पादनमा केन्द्रित बनेको विषयमा प्युठानबाट प्रतिनिधि सभा सदस्य समेत रहेका थापाले प्रशंसा गरेका थिए ।
यो स्टाटस नेकपाका नेता कार्यकर्ताबिच एकाएक हल्ला खल्लाको विषय बन्यो ।
कडा टिप्पणी र तत्कालै कुनै कुरालाई सकारात्मक टिप्पणी नगर्ने मान्छेको आरोप खोपिरहेका थापाले विप्लव नेतृत्वको नेकपाको एकाविहानै प्रशंसासहितको स्टाटस हालेपछि नेकपाभित्र हल्लाखल्ला स्वाभाविक थियो ।
केन्द्रीय कमिटी बैठकमै महासचिव विप्लवले थापाको चर्चा गरे । थापा नेकपाका कार्यकर्ताबिच एकाएक ‘सेलिब्रेटी’ जस्तै बनेका थिए । उनलाई हेडक्वाटरमा गरिएको स्वागतले पनि त्यो देखाउँछ ।
थापा पुस ४ गते गृहजिल्ला प्युठान जाने तयारी गर्दै थिए । स्टाटसकै कारण थापालाई पुस ३ गते दिनभरीमा थुप्रै म्यासेज र फोन आइसकेको थियो । यो बिचमा महासचिव विप्लव र थापाबिच भेटघाटका लागि छलफल भयो र भेटघाटको वातावरण बन्यो । थापा गृहजिल्ला प्युठान जाँदै गर्दा नेकपाको केन्द्रीय कार्यालय कपिलवस्तुको शिवगढीमा गए ।
नेकपाको केन्द्रीय कमिटीको बैठक सकिएर आजै केन्द्रीय प्रतिनिधि समितिको बैठक सुरु भएको थियो । बैठककैबिचमा नेता थापा केन्द्रीय कार्यालयमै पुगेपछि बैठक रोकेर महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहितका नेताहरूको भेट भयो । भेटका क्रममा समसामयिक राजनीतिका बारेमा छलफल भएको नेता थापाले जानकारी दिए ।
उनका अनुसार कम्युनिष्ट आन्दोलनको वर्तमान र भविष्यका बारेमा छलफल भएको थियो ।
“भेट कुनै पूर्व निर्धारित थिएन । म लामो समयदेखि नेपाल कम्युनिष्ट पार्टीको हेडक्वाटरका बारेमा बुझ्न चाहेका थिएँ । राजधानीबाहिर हेडक्वाटर कसरी सञ्चालनमा छ भन्ने मेरो चासोको विषय थियो । गृहजिल्ला प्युठान जाँदै गर्दा कम्युनिष्ट पार्टीको हेडक्वाटर पसेको हुँ ”, सांसद थापाले भने, “उहाँहरूको बैठक चलिरहेको रहेछ । म त्यहाँ पुग्दा मलाई स्वागत गर्नु भयो र केहीबेर कुराकानी भए ।” भेटका क्रममा नेकपाले सञ्चालन गरेको सामुहिक उत्पादन पद्दतिका बारेमा आफूले बुझ्ने मौका पाएको उनले बताए ।
लुम्बिनीसञ्चारको जिज्ञासामा नेता थापाले भने, “भेट कुनै राजनीतिक थिएन । विगतदेखि नै आफूहरूका बिचमा कम्युनिष्ट आन्दोलनकाबारेमा छलफल हुने गरेकाले अहिले पनि समसामयिक राजनीतिका बारेमा कुरा भए । उहाँहरूको सामुहिक उत्पादन प्रणालीका बारेमा बुझ्ने अवसर पाएँ । उहाँहरुबाट कम्युनिष्ट पार्टीहरुले सिक्नुपर्छ भन्ने लाग्यो ।”
भेटमा महासचिव विप्लवले थापालाई धन्यवाद दिएका थिए । महासचिव विप्लवले भनेका थिए,“तपाईंहरूले वाच गरिदिदा हामीलाई पनि केही गरेको अनुभूति भयो । यसले सबैमा एउटा उत्साहको वातावरण तयार गरेको छ ।”