स्याङ्जाको भलुवाडाँडामा आगलागी, १५ लाख बराबरको क्षति
काठमाडाैँ । स्याङ्जा जिल्लाको भिरकोट नगरपालिका वडा नम्बर १ भलुवाडाँडामा हिजाे साँझ विद्युत् सर्टका कारण आगलागी हुँदा ठूलो क्षति भएको छ।
८१ वर्षीय बेल नारायण श्रेष्ठको दुई तले कच्ची घर र एक तले गोठमा सुरू भएको आगोले दुवै संरचना पूर्ण रूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए ।
आगलागीबाट नगद, सुन, भाँडाकुँडा, र लत्ताकपडासहित करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले जनाएको छ। ७ तोला सुन, नगद १ लाख ३० हजार रुपैयाँसहितका सम्पत्ति जलेर नष्ट भएका छन्।
आगो नियन्त्रणको प्रयासका क्रममा ५० वर्षीय कोटबहादुर मगर घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको थियो, र उपचारपछि डिस्चार्ज गरिएको छ। आगो साँझ ७ः३५ बजे पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।