सरकारले रैथाने बालीको संरक्षण र विकासका लागि पहल गर्छः कृषिमन्त्री अधिकारी
काठमाडाैँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ग्रामिण क्षेत्रमा उत्पादन भएको रैथाने बालीहरू स्वास्थ्यका लागि उपयुक्त रहेको बताएका छन् ।
शुक्रवार कृषि पत्रकारहरुको संस्थाले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले समय परिवर्तन भएपनि खानेकुरामा मानिसहरु रैथानेबालीमा आकर्षण बढेको बताएका हुन् । उनले पछिल्लो समय पुरानो रैथाने बालीहरू खाज्दै हिँडेको बताउँदै बाल्यकालमा आफू पनि कोदोको रोटी खाएर हुर्केको स्मरण गरे ।
“समय परिवर्तनसँगै खाने कुराहरूमा परिवर्तन भएका छौं । तर पछिल्लो समय पुरानो रैथाने बालीहरू खाज्दै हिँडेका छौं । गाउँमा उत्पादन भएका रैथानेबालीहरू स्वास्थ्यका लागि आवश्यकता रहेछ भन्ने महशुस हुँदै आएको छ । रैथानेबालीहरूको विकासका लागि मन्त्रालय सचेत छ,” उनले भने ।
उनले रैथाने बालीहरूको विकास र संरक्षणको लागि सरकारले पहल गर्ने बताए । एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) र राष्ट्रिय कृषक समूह महासंघले रैथाने बाली कोदोको विषयमा रिपोर्टिङ गर्ने ५ कृषि पत्रकारलाई सम्मान समेत गरेको छ । सम्मानित हुने पत्रकारहरू लेखनाथ पोखरेल,ममता थापा, मदन पौड्याल, प्रशान्त खड्का, रवि थापा र सरिता थारु हुन् ।