६ पुस २०८१, शनिबार

तीन प्रमुख तीन राजनीतिक दल भ्रष्टाचारमा लिप्त छन्-अध्यक्ष भट्टराई

प्रकाशित मिति :  21 December, 2024 3:11 pm


काठमाडाैँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख तीन राजनीतिक दलहरु चरम भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन् ।

जनकपुरधाममा शनिवार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मधेस प्रदेश कमिटीको कार्यालय उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र मधेसवादी राजनीतिक दलहरु चरम भ्रष्टाचारमा लिप्त रहेको बताए ।

उनले आफूले गरेका भ्रष्टाचारहरु लुकाउन सरकार फेरिने र एकले अर्कोलाई आरोप लगाउने गरेको बताए । भ्रष्टाचारतन्त्रमा फसेको राजनीतिलाई भ्रष्टाचाररहित, सुशासनयुक्त राजनीति स्थापना गर्ने र देशमा तिब्र विकास र समृद्धि ल्याउने एजेण्डा आफूले बोकेको बताए।

संघीयताका अपूर्णतालाई कानूनहरु छिटो बनाएर प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने बताए । केन्द्र र प्रदेशमा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद मोडलबाट जाने गरी आफूहरु अघि बढ्ने बताए ।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !