पश्चिम नेपालमा बदली : केही दिन चिसो बढ्ने, सचेत रहन माैसमिवद्काे सुझाव
दाङ । नेपालको पश्चिमी भूभागमा अबको केही दिन पुनः चिसो बढ्ने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालको पश्चिमी क्षेत्रमा बदलीको अवस्था रहने, बादल लाग्ने र हल्र्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका आइतबारदेखि पश्चिम नेपाल विशेषगरी कर्णाली क्षेत्रमा यसको केही असर देखिने छ । सोमबार भने अझै बढ्ने देखिएको उनले बताए । त्यसको असर लुम्बिनी प्रदेशसम्म नै पर्ने र केही असर काठमाडौँसम्म आइपुग्ने उनले बताए ।
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदलीको अवस्था रहेको छ । बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ । आगामी २४ घण्टामा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा र हिमपातको सम्भावना छ ।