७ पुस २०८१, आइतबार
प्रदेश राजधानीमा साहसिक पर्यटन

देविकोटबाट प्याराग्लाइडिङको नियमित उडान गर्ने तयारी

राप्ती रिडी ग्रुपले देविकोटबाट मौरीघाटसम्म प्याराग्लाइडिङको नियमित उडानको तयारी गरेको छ
प्रकाशित मिति :  22 December, 2024 8:45 am


दाङ । लुम्बिनी प्रदेशको राजधानी क्षेत्रलाई साहसिक पर्यटनका रुपमा विकास गर्ने तयारी थालिएको छ ।

राप्ती गाउँपालिकाको वडानम्वर ९ देविकोटलाई साहसिक पर्यटनका रुपमा विकास गर्ने तयारी थालिएको गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए । उनका अनुसार निकट भविष्यमै साहसिक खेल प्याराग्लाइडिङको नियमित उडान गर्ने तयारी छ ।

राप्ती रिडी ग्रुपले देविकोटबाट मौरीघाटसम्म प्याराग्लाइडिङको नियमित उडानको तयारी गरेको गाउँपालिका अध्यक्ष बिष्टले जानकारी दिए । “प्रदेश राजधानी क्षेत्रमा साहसिक पर्यटनको थालनी हुँदै छ । राप्ती रिडी गु्रपले प्याराग्लाइडिङको नियमित उडान गर्ने भएको छ । यसले प्रदेश राजधानी क्षेत्रको पर्यटनको विकासका लागि विशेष भूमिका खेल्ने हाम्रो अपेक्षा रहेको छ”, अध्यक्ष बिष्टले भने ।

अघिल्लो वर्ष २ पटक परिक्षण उडान सम्पन्न गरेको रिडी गु्रपले शुक्रबार तेस्रो पटक पुनः प्याराग्लाइडिङको सफल उडान गरेको छ । ४ जना विदेशी पर्यटकले देविकोटदेखि मौरीघाटसम्मको उडान गरेका छन् ।

विदेशी पर्यटनकसहित उडान गरेका प्याराग्लाइडिङका अन्तर्राष्ट्रिय प्रशिक्षक सानुबाबु सुनुवारले यो क्षेत्र अत्यन्तै सुरक्षित रहेको जानकारी दिए । उडानका लागि देविकोट–मौरीघाट उत्तम र सुरक्षित रहेको भन्दै प्रशिक्षक सुनुवारले अघिल्लो साल दुई पटक गरिएको प्याराग्लाइडिङको परिक्षण सफल भएकाले यस पटक विदेशी पर्यटकलाई उडानका लागि ल्याएको जानकारी दिए ।

“प्राकृतिक रूपमा सुन्दर र हावापानी पनि राम्रो भएकाले नियमित प्याराग्लाइडिङ हुनसक्ने र अन्तर्राष्ट्रिय स्तरको प्याराग्लाइडिङ प्रतियोगीतासमेत आयोजना गर्न सकिने प्रतिक्रिया प्रशिक्षकले दिनु भएको छ”, गाउँपालिका अध्यक्ष बिष्टले भने, “प्याराग्लाइडिङ उडानको अनुमति ल्याउनेदेखि सबैखाले प्रावधिक कार्य सम्पन्न भएका छन् । उडानलाई नियमित गर्न हामी सहयोग गर्छौं ।”

पूर्व–पश्चिम राजमार्गदेखि ९ किलोमिटर उत्तरमा रहेको देविकोट धार्मिक पर्यटका रुपमा समेत परिचित रहेको भन्दै अध्यक्ष बिष्टले यस क्षेत्रलाई साहसिक पर्यटन अर्थात् प्याराग्लाइडिङ उडान गर्ने क्षेत्रका रुपमा विकास गर्ने पालिकाको योजना सफल बन्दै गएको प्रतिक्रिया दिए ।



प्रतिक्रिया दिनुहोस !