प्रविधिमा आधारित कम्पनीहरूको मेला ‘नेपाल प्याक प्रिन्ट इन्टरनेशन एक्स्पो’ सम्पन्न, २८ हजारले गरे अवलोकन
काठमाडाैँ । प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीहरुको मेला ‘नेपाल प्याक प्रिन्ट इन्टरनेशन एक्स्पो’ हिजाे (आइतवार) सम्पन्न भएको छ ।
गत शुक्रवारदेखि काठमाडौँको भृकुटिमण्डमा आयोजना गरिएको प्रविधि प्रदर्शनीमा २८ हजार मानिसहरूले अवलोकन गरेको आयोजकले जनाएको छ ।
प्रदर्शनीले नेपालमै बसेर प्रविधिको क्षेत्रमा काम गर्दै आउनुभएका कम्पनी र मानिसहरूलाई थप प्रोत्साहित गरेको आयोजक संस्था मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताए । उनले प्रदर्शनीमा सहभागि हुन आएका विदेशी कम्पनीहरुबाट समेत सकारात्मक प्रतिक्रिया पाएको बताए । उनका अनुसार प्रदर्शनीलाई इमिर्जङ मार्केटका रुपमा लिनुभएका विदेशी प्राविधिक कम्पनीहरू नेपालमै प्रविधिको क्षेत्रमा लगानी गर्न समेत उत्साहित भएका छन् । उक्त प्रदर्शनीले नेपालको अर्थतन्त्र उकास्नका लागि समेत सहयोग पुग्ने उनको विश्वास छ ।
उनले यस्ता मेलाहरुले स्वदेशमै रोजगारी सिर्जना गर्न मद्दत पुग्ने र विदेश जानुपर्ने बाध्यता हटाउने बताए । उनले मेला नयाँ नयाँ प्रविधिहरूसँग जोड्ने र नेपालमै बसेर आर्थिक पक्ष सबल बनाउन महत्वपूर्ण हुने बताए ।