आत्महत्याका घटनालाई न्युनिकरण गर्न सरकार र केयुबिच सम्झौता
काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले एक वर्षभित्र सरकारले आत्महत्याका घटनालाई न्युनिकरण गर्ने बताएका छन् । सोमवार सिंहदरबारमा गृह मन्त्रालय र काठमाडौँ विश्व विद्यालय मानसिक स्वास्थ्य विभागबिच मानसिक स्वास्थ्य अध्ययन तथा अनुसन्धान सम्बन्धि समझदारी पत्रमा हस्ताक्षरपछि बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
सम्झौता पत्रमा गृह मन्त्रालयको तर्फबाट विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा.टोकराज पाण्डे र काठमाडौं विश्वविद्यालय मानसिक स्वास्थ्य विभागका निर्देशक डा.दीपक कुवँरले हस्ताक्षर गरेका हुन् । सम्झौता पत्रमा हस्ताक्षरसँगै मानसिक स्वास्थ्य रोगका कारण आत्महत्याका विषयमा अध्ययन अनुसन्धानमा काठमाडौँ विश्वविद्यालय मानसिक स्वास्थ्य विभागले सहयोग गर्ने भएको छ ।
गृहमन्त्री लेखकले सम्झौतासँगै गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयबीच सहकार्य गरेर आत्माहत्याका घटनालाई नियन्त्रण गरी कमी ल्याउने प्रतिवद्धता जनाए । उनले काठमाडौँ विश्वविद्यालय मानसिक स्वास्थ्य विभागले नेपालमा आत्महत्याका घटना बढ्नुका कारण र उपायको खोजि गरी अनुसन्धान गरिने बताए ।
उनले सरकारले मुलुकभित्र हुने आत्माहत्याका घटनालाई न्युनिकरण गर्ने काम गरिरहेको बताए । गृहमन्त्री लेखकले सरकारले अहिले गरिरहेका कामले आत्माहत्याका घटना कम नभएको भन्दै काठमाडौं विश्वविद्यालयसँग मिलेर काम गर्दा उपलब्धी हासिल गर्ने विश्वास व्यक्त गरे ।
उनले नेपाल प्रहरीले आत्माहत्याका घटनाका विषयमा अध्ययन गरिरहेने बताए । उनले आत्माहत्या गर्ने खोज्ने मानिसहरुलाई उद्धार गरी काठमाडाैँ विश्वविद्यालय मानसिक स्वास्थ्य विभागले काउन्सिलिङ गर्ने बताए । न्युज एजेन्सी नेपाल