युवाहरूले नेपालमा सुरिक्षत भविष्य देख्न छाडे, कन्भिन्स गरौंः नेता रिजाल
काठमाडाैँ । नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालले बितेको ३० वर्षमा नेपालले उल्लेख्य प्रगति गरेको भएपनि युवा पलायन नरोकिएको बताएका छन् ।
सोमवार नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विगत ३० वर्षमा आर्थिक, सामाजिक, स्वस्थ्य र शिक्षाका क्षेत्रमा सुधार भएपनि युवाहरू कन्भिन्स हुन नसकेको बताएका हुन् । उनले युवाहरुले नेपालमा सुरिक्षत भविष्य देख्न छोडेको बताए ।
उनले युवा पलायनको समस्यालाई चिर्न संविधान संशोधनको माध्यमबाट लोकतन्त्रका बाँकी पक्षमा काम गर्न जरुरी रहेको बताए । उनले पछिल्लो समय कृत्रिम बहुमतको आधारमा सरकार बनाउने र ढाल्ने खेल भइरहेको उल्लेख गर्दै संविधानको माध्यमबाट एउटै पार्टीले प्राकृति बहुमत ल्याउने गरी व्यवस्था गर्न जरुरी रहेको बताए । उनले संविधानको ९ वर्षको अभ्यासको समिक्षा गर्दै संशोधनको काम गर्नुपर्नेमा जोड दिए ।
उनले पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे। पत्रकारिता क्षेत्रले मुलुकको विकासमा महत्वपूर्ण योगदान दिएको उनको भनाइ छ ।