माओवादी केन्द्रले माग्यो सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा
काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेको छ ।
सोमवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा माओवादी केन्द्रले सभापति पोखरेलको राजीनामा माग गरेको हो । सार्वजनिक लेखा समिति सरकारको चेक एण्ड ब्यालेन्स गर्ने निकाय भएकाले समिति सभापति प्रतिपक्षको हुनुपर्ने माग गरेको हो ।
समिति बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरे । सांसद मोदीले समिति भ्रष्टाचार,कुशासन र बेथितिको छायाँजस्तो देखिएको आरोप लगाए । उनले समिति सभापति आफैँ र परिवारका सदस्यमा समेत धेरै नकारात्मक प्रश्नहरू उठेको भन्दै तत्काल सभापतिमा मार्गप्रशस्त गरिनुपर्ने बताए ।
उनले सरकारलाई चेक एण्ड ब्यालेन्स गर्ने समितिका सभापतिबिरुद्ध नै आर्थिक लेनदेनको कुरा उठेकाले मार्गप्रस्त गर्नुपर्नेमा जोड दिए । उनले सहकारीका बारेमा सभापति पोखरेल र परिवारमाथि पनि प्रश्न उठेकाले समितिमा सभापतिको जवाफ माग गरे ।