आईएमस कलेजमा हल्ट प्राइज भिजन अलाइनमेन्ट सेसन सम्पन्न
काठमाडौँ। आईएमस कलेजमा हल्ट प्राइजको भिजन अलाइनमेन्ट सेसन सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि हल्ट प्राइजका पूर्व क्याम्पस डाइरेक्टर विकेस अधिकारी, ज्योति विकास बैंकका शाखा निर्देशक सुजन रेग्मी, आईएमस कलेजका मार्केटिङ निर्देशक सरोज उपाध्याय र आरस्क फुडकी कृपा तुलाधारको उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रायोजन लाभा लन्ज एण्ड बार, ग्लोबल टेलर, क्रियटिभ लिंक प्राइभेट लिमिटेड, जाम पाउरोटी, डाबर, मिथिला थिङ्स, आरस्क फुड र ज्योति विकास बैंकले गरेका थिए।
सुरुवातमा ईशा बुद्धाचार्य र श्रेया कपालीले प्रमुख अतिथिहरूलाई न्यानो स्वागत गरे। ज्योति विकास बैंकका शाखा प्रमुख सुजन रेग्मीले धन्यवाद ज्ञापन गर्दै हल्ट प्राइजको अन-क्याम्पस यात्रा सफल बनाउन बैंकले निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
पूर्व क्याम्पस डाइरेक्टर विकेस अधिकारीले हल्ट प्राइजको भिजनबारे प्रस्ट पार्दै युवाहरूले व्यापार व्यवसायमार्फत समाजमा सकारात्मक प्रभाव पार्न र दिगो विकास लक्ष्य हासिल गर्न सक्ने विषयमा प्रकाश पारे। उनले रोसनी राइड, इको भाना र खाली सिसी जस्ता सामाजिक व्यवसायहरूको उदाहरण दिँदै प्रतिस्पर्धीहरूलाई उत्प्रेरित गरेका थिए । उनले डिजाइन थिंकिङका चरणहरू र फाइनलमा आइडिया पिच गर्ने तरिकाबारे संक्षेपमा मार्गदर्शन पनि गरे। कार्यक्रमको वातावरणलाई प्रतिस्पर्धी उन्मुख बनाउन उनले सहभागीहरूसँग अन्तरक्रिया गरेका थिए ।
सेसनका क्रममा प्रतिस्पर्धीहरूलाई आफ्नो भिजन बोर्डमा लेख्न लगाइएकाे थियाे । उत्कृष्ट भिजन प्रस्तुत गर्ने प्रतिस्पर्धीहरूलाई आगामी सेसनमा पुरस्कृत गरिने घोषणा गरिएकाे छ । आरस्क फुडकी प्रतिनिधि श्रेया तुलाधारले छोटो मन्तव्य राख्दै हल्ट प्राइजको महत्वलाई थप प्रस्ट पारिन्।
कार्यक्रमको अन्त्यमा सहभागी विद्यार्थीहरूबाट सेसनलाई अझ प्रभावकारी बनाउन सुझाव संकलन गरिएकाे छ । यस सेसनले हल्ट प्राइजबारे विद्यार्थीहरूलाई प्रस्ट जानकारी दिएको र सहभागीहरूले यस यात्रामा आफूलाई समर्पित गर्ने अठोट गरेको जनाइएको छ।