८ पुस २०८१, सोमबार

आर्थिक अनुशासन कायम गर्न बेरुजु हुनै नदिने गरी काम गरौं-मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  23 December, 2024 7:26 pm


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन कायम गर्न प्रदेश सरकारले बेरुजु हुनै नदिने गरी काम गर्ने बताएका छन्।

महालेखापरीक्षकको कार्यालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको समन्वयमा सोमबार राप्ती उपत्यका देउखुरीमा आयोजना गरेको लेखापरीक्षण, बेरुजु फछ्र्यौट र सम्परीक्षण सम्वन्धि प्रदेशस्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले बेरुजु फछ्र्यौटलाई प्राथमिकतामा राखेर काम गर्न मातहतका निकायलाई निर्देशन दिए ।

‘‘सुरुका दिनमा बेरुजु थिएन । बिचमा बेरुजु बढेर गयो । त्यसलाई घटाउन जरुरी छ‘’, उनले भने, ‘‘सुशासन र जवाफदेहीता कायम गर्न बेरुजुलाई शुन्यमा झार्ने सरकारले रणनीति बनाएको छ ।’‘

बेरुजु घटाउन कर्मचारीको कार्यसम्पादन मूल्यांकनमा बेरुजु फछ्र्यौटलाई अनिवार्य समेटनुपर्ने मुख्यमन्त्री आचार्यले बताए । ‘‘कर्मचारीको कार्यसम्पादन मूल्यांकनको एउटा आधार बेरुजु फछ्र्यौटलाई बनाउनुपर्छ’‘, उनले भने, ‘‘अनि कर्मचारी तहबाट यसलाई चासोको रुपमा लिने हुन्छ ।’‘

प्रदेश सरकारले बेरुजुलाई घटाउने विषय रणनीतिक योजनाहरुमा समेटेर अघि बढाएको, कर्मचारी तहमा जारी गरेको १४ बुँदे निर्देशनले समेत सम्वोधन गरेकाले आगामी दिनमा सुधार हुने विश्वास व्यक्त गरे ।

प्रदेश तहमा जनशक्तिको अभावलाई समाधान गर्नेगरी लोकसेवा आयोगले कर्मचारी छनोट, बढुवाको कामलाई अघि बढाएकाले कार्यसम्पादन सहज रुपमा हुनेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस !