८ पुस २०८१, सोमबार

लुम्बिनी सञ्चार अपडेट : दिनभर देशमा के–के भए ?

प्रकाशित मिति :  23 December, 2024 8:29 pm


अहिले काँग्रेसभित्र विचलन छ-नेता कोइराला

काठमाडाैँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली काँग्रेसभित्र विचलन रहेको स्वीकार गरेका छन् ।

सोमबार काठमाडौँमा कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले पार्टीमा विचलन रहेको बताएका हुन् ।

उनले आफूलाई ४०/६० को भागबण्डामा लागेको आरोप लागे पनि पार्टी सभापतिले सबै नेताहरुको कुरा नसुनेपछि बाध्य भएको बताए ।

उनले सभापति शेरबहादुर देउवाले सबै नेताहरुको कुरा नसुन्दा चुप लागेर बस्न नसकेको उनको स्पष्टीकरण थियो । सभापतिले केही पनि कुरा नसुन्दा राजनीति गर्नेहरुलाई अफ्ठ्यारो पर्ने जिकिर गरे । उनले पार्टी सभापति देउवा पूर्वप्रधानमन्त्री स्व. भट्टराईको अनुयायी भएको बताउँदै सभापति देउवाले नै गुटलाई फस्टाइदिने गतिविधि गरेकाे आरोप लगाए ।

आगामी निर्वाचनमा काँग्रेस एक्लै लड्छ-नेता सिटौला

काठमाडाैँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी निर्वाचनमा काँग्रेस एक्लै प्रतिष्पर्धा गर्ने बताए ।

सोमबार काठमाडौँमा नेपाली काँग्रेसको सय दिने विशेष अभियानअन्तर्गत् काठमाडौँ महानगरस्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आगामी निर्वाचन एक्लै लड्ने र बहुमत ल्याउने दाबी गरे । उनले अहिलेको अभियान २०८४ कै तयारीको प्रारम्भ भएको उल्लेख गरे । उनले आफूले गरेका राम्रा कामहरुको प्रचारप्रसार गर्न काँग्रेस अघि सर्नुपर्ने र कमी कमजोरीको पनि आफूले जस/अपजस लिनुपर्ने बताए ।

उनले राजनीतिक क्षेत्रमा जनताको अधिकारका लागि गरेका संघर्षहरु जनतामाझ पुर्याउनुपर्ने बताए । जनताका अधिकार पूरा कार्यान्वयन गर्न धेरै काम गर्न बाँकी रहेको बताए ।

नेता सिटौलाले नेपाली काँग्रेस पार्टीले गर्न नसके अरु कुनै पनि राजनीतिक दलले जनताको हितमा काम गर्न नसक्ने बताए ।

नेपाल खेलकुद पर्यटनको हब बन्नसक्ने प्रचुर सम्भावना छ-अध्यक्ष दाहाल

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल खेलकुद पर्यटनको हब बन्नसक्ने प्रचुर सम्भावना रहेको बताएका छन् ।

सोमबार योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज—२०२४ को उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले खेलले पर्यटन प्रवद्र्धनका साथै देश विकासमा सघाउ पुग्ने बताएका हुन् ।

उनले नेपाल विभिन्न प्रकारका खेलकुद गतिविधिहरुका लागि आकर्षक स्थल बन्ने बताए । उनले राष्ट्रको प्रतिष्ठा बढाउन र अर्थतन्त्रलाई अगाडि बढाउन खेलकुदलाई महत्वपूर्ण आधार मान्नुपर्ने बताए ।

आफ्नो प्रधानमन्त्रीको कार्यकालमा प्रधानमन्त्रीको कार्यकालमा नेपाली खेलकुदको विकासका लागि खेलकुद पूर्वाधार विकास र खेलाडीहरूलाई प्रोत्साहन गर्न विभिन्न प्रयासहरू थालेको दाबी गरे ।

अध्यक्ष दाहालले आगामी दिनहरुमा पनि नेपाली खेलकुद क्षेत्रको विकासमा समर्पित रहने प्रतिवद्धता जनाए ।

फौजदारी न्याय प्रणालीलाई गतिशील, प्रभावकारी एवं विश्वसनिय बनाउनुपर्छ-प्रधानन्यायधीश राउत

काठमाडाैँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले फौजदारी न्याय प्रणालीलाई गतिशिल, प्रभावकारी एवं विश्वसनिय बनाउनुपर्ने बताएका छन् ।

महान्यायाधिवक्ता कार्यालयको ७४ औं स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले फौजदारी न्याय प्रणालीलाई गतिशिल, प्रभावकारी एवं विश्वसनिय बनाई पीडितको पुनःस्थापना र प्रतिनिधित्वलाई स्वच्छ, सुनुवाइको प्रत्याभुति गरी यस प्रणालीप्रति सर्वसाधारणको विश्वास अभिवृद्धि गर्न महान्यायाधिवक्ता कार्यालयको अहं भुमिका रहने बताए ।

उनले स्वतन्त्र, सक्षम तथा प्रभावकारी फौजदारी न्याय प्रशासनको माध्यमबाट कानूनको शासन र न्यायपूर्ण समाजको स्थापना गर्न सकिने उल्लेख गरे ।

उहाँले फौजदारी न्याय प्रणालीको प्रभावकारिता र विश्वसनियताका लागि त्यसमा आवद्ध संस्था र निकायहरुको सक्षमता, निष्पक्षता, व्यवसायिकता र जवाफदेहिता अपरिहार्य रहेको बताए । उनले अपराधको प्रकृतिमा आएको परिवर्तन एवं सूचना प्रविधिको प्रयागमार्फत् हुने अपराधका कारण अपराधको अनुसन्धान तथा अभियोजनमा समेत चुनौति थपिएको बताए ।

प्रधानन्यायधीश राउतले सरकारी वकिल कार्यालयको संस्थागत सुदृढिकरण र सरकारी वकिलहरुको व्यवसायिक अभिवृद्धिको लागि महत्वपूर्ण काम भइरहेको बताए ।

राजनीतिमा सेवाको भावको महत्व बढी हुनुपर्छ-उपप्रधानमन्त्री सिंह

काठमाडाैँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले क्रियाशिल सदस्यहरुलाई पार्टीका हरेक गतिविधिमा सहभागी गराउनुपर्ने बताएका छन् ।

सोमबार काठमाडौँमा नेपाली काँग्रेसको सय दिने विशेष अभियानअन्तर्गत् काठमाडौँ महानगरस्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले संख्या ठूलो हुने तर नेपाली काँग्रेस पार्टीका क्रियाशिल सदस्यहरुले नै क्रियाशिल सदस्यताका महत्व नबुझ्ने कुरा राम्रो नरहेको बताए । उनले इतिहास स्थापना गरेको पार्टीका नेताहरुले क्रियाशिल सदस्यहरु हौँ भन्नेकुरा बिर्सिन नहुने बताए ।

उनले आफूहरु राष्ट्र र समाजका सेवा गर्न राजनीतिमा लागेको बताए । राजनीतिमा सेवाको भावको महत्व बढी हुनुपर्ने बताए ।
उपप्रधानमन्त्री सिंहले संस्थापक नेताहरुले गरेको त्याग, तपस्या बिर्सिन नहुने बताए ।

सांसद पदबाट रवि लामिछाने निलम्वित

काठमाडाैँ । प्रतिनिधि सभा सदस्य रवि लामिछानेलाई संसद सचिवालयले निलम्वन गरेको छ । सोमबार संसद सचिवालयले चितवन जिल्ला क्षेत्र नं. २ बाट निर्वाचित सांसद लामिछानेलाई सांसद पदबाट निलम्वन गरेको हो ।

लामिछाने विरुद्ध कास्की जिल्ला अदालतमा पुस ७ गते सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धीकरण सम्बन्धी समेत मुद्दाको पूरक अभियोगपत्र भएसँगै संसद सचिवालयले निलम्वन गरेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।

सम्पत्ती शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा २७ मा “प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्वन भएको व्यवस्था रहेको बताए ।

लामिछानेविरुद्ध आइतवारमात्रै जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सम्पती शुद्धिकरण, संगठित अपराध र सहकारी ठगीसमेतमा गरी तीनवटा मुद्दा दायर गरेको थियो ।

पत्रकारिता सरकारलाई खबरदारी गर्न नरोकिने आन्दोलन हो-जनार्दन शर्मा

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पत्रकारिताले सरकारलाई सही बाटोमा लैजान खबरदारी गरेको बताएका छन् ।

सोमबार नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पत्रकारिता एक नरोकिने आन्दोलन भएको बताएका हुन् । उनले पत्रकार महासंघले ६५ वर्षको इतिहासमा जनतालाई सुसूचित र अभिव्यक्ति स्वतन्त्रताको बिस्तार लागि महत्वपूर्ण भुमिका खेलेको बताए ।

उनले पत्रकारिता क्षेत्रले समाज र लोकतन्त्रलाई गति दिएको बताए । पत्रकारिताले समाजको आत्माको रुपमा काम गरेको उनको भनाइ छ । उनले सञ्चार क्षेत्रलाई आग्रह र पूर्वाग्रहमा हेर्नु वा आफ्नो स्वार्थमा प्रयोग गर्नु सञ्चार प्रतिको इमानदारिता नभएको बताए ।

रवि हिरासतमा सुतेको फाेटाे सार्वजनिक गर्ने निकोलस रिहा

काठमाडाैँ । प्रहरी हिरासतमा रहेका रवि लामिछानेको फोटो सार्वजनिक गरेको आरोपमा पक्राउ परेका डा. निकोलस भुसाल रिहा भएका छन्।

कास्की जिल्ला अदालतले म्याद थपका लागि अनुमति नदिएपछि भुसाल सोमबार रिहा भएका कास्की प्रहरीका सूचना अधिकारी, डीएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।

न्यायाधीश नवराज दाहालको इजलासले भुसाललाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नदिएको हो। काठमाडौँबाट आइतबार राति पक्राउ परेका भुसाललाई सोमबार बिहान पोखरा पुर्‍याइएको थियो ।

हिरासतमा राखी अनुसन्धान गर्न अनुमति माग्दै प्रहरीले सोमबार नै अदालतमा उपस्थित गराएपनि अदालतले अनुमति दिएन। अदालतले अनुमति नदिएपछि उनी पक्राउ परेको २४ घण्टा नबित्दै रिहा भएका हुन्।



प्रतिक्रिया दिनुहोस !