उद्यमशीलता नै आर्थिक संकटको समाधान-पाण्डे
दाङ । नेकपा (एमाले) का केन्द्रीय सदस्य घनश्याम पाण्डेले मुलुकलाई आर्थिक संकटबाट मुक्त गर्न उद्यमशीलता विकासलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
ग्रीन फाउन्डेसन नेपालले सञ्चालन गरेकाे बाँसका सामग्री निर्माण तालिमकाे समापन कार्यक्रमलाई सम्बाेधन गर्दै फाउण्डेसनका केन्द्रीय अध्यक्ष समेत रहेका पाण्डेले बेजगारी समस्या र आर्थिक संकटकाे समाधान उद्यमशीलता नै भएकाे बताएका हुन् ।
“बेराेजगारीका कारण लाखौं नेपाली युवाहरु विदेशिन बाध्य भएका छन्। मुलुकमा उत्पादन राेकिएकाे छ । जहिलेसम्म हामी किन्नेवाला मात्रै बन्छौं । याे नराेकिदासम्म हामी गरिब नै रहन्छौं । जुनदिन बेच्नेवाला बन्ने सोचको विकास गर्छौं, त्यो दिन हामी धनिवाला बन्नेछौं।“
स्थानीय स्रोतहरूको अधिकतम उपयोग गरेर बाँस जस्ता सामग्रीमा आधारित उत्पादनहरू फर्निचर, हस्तकला र निर्माण सामग्री सजिलै बाह्य मुलुकमा समेत निर्यात गर्न सकिने भएकाले यसले रोजगारी सिर्जना गरी देश आर्थीक रुपमा सम्वृद्ध हुने उल्लेख गरे ।
उद्यमशीलता विकास र स्थानीय स्रोतहरूको अधिकतम उपयोग गरि देशलाई गरिबीबाट मुक्त गराउँदै आर्थिक उन्नति गर्न सकिनमा पाण्डेले जोड दिए ।
डिभिजन वन कार्यालय दाङका प्रमुख ईश्वरी पौडेलले “एक वन, एक उद्यम” कार्यक्रम जिल्लामा प्रभावकारी बन्न नसकेको बताए । जिल्लामा अहिले ३सय ८५ सामुदायिक वनहरू भए पनि यो कार्यक्रमले अपेक्षित परिणाम दिन नसकेको धारणा राखे ।
तालिममा कर्णाली प्रदेशको सल्यान र दाङ जिल्लाका विभिन्न स्थानहरुबाट २५ जना महिला र पुरुष प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।
तालीममा फोटो फ्रेम, कलमदानी, भित्ते फुलदानी, चुरा स्टेन्ड, गैजा, मुडा, डोको, छिट्वालगाएतका सामग्री निर्माणको सिप आर्जन गरेका छन् ।