१० पुस २०८१, बुधबार

कुरानले पनि समाज र मानव जातिको समृद्धिका लागि प्रेरणा दिन्छः सभामुख घिमिरे

प्रकाशित मिति :  24 December, 2024 11:18 am


काठमाडाैँ । सभामुख देवराज घिमिरेले कुरान वाचन प्रतियोगिताले शिक्षाको विकासका लागि महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् ।

सोमवार काठमाडौँमा एक कार्यक्रमबिच दोस्रो कुरान वाचन प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले कुरान वाचन प्रतियोगिता आफैँमा रचनात्मक काम रहेको भन्दै कुरानले पनि अन्य धर्मग्रन्थझैँ समाज, मानव जातिको मुक्ति, सुख र समृद्धिको बाटो देखाउने उल्लेख गरेका हुन् । उनले कुरानको अध्ययनबाट समाजलाई सही दिशामा लैजानसक्ने प्रेरणा मिल्ने बताए ।

“कुरानको कम्पिटिशन एउटा आफैँमा रचनात्मक काम हो । यसले मेरो विचारमा दुई कामहरूमा महत्व राख्दछ । कुरान भनेको धर्मग्रन्थ हो । त्यसमा पनि इस्लामिक धर्मको ग्रन्थ हो । त्यसले समाजको उन्नति, मानव जातिहरुको मुक्ति, सुख, समृद्धि र मानव जातिको अन्तिम ऐस ल्याउने बाटो नै के हुनसक्छ भन्नेकुरा सबै धर्मले गर्दछन् र कुरानले पनि त्यही कुरालाई दिन्छ,” उनले भने ।

कार्यक्रममा बोल्दै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले दोस्रो कुरान वाचन प्रतियोगिता सम्पन्न भएको बताए । उनले कुरान वाचन प्रतियोगितामा प्रथम हुनेले ४ लाख रुपैयाँ पुरस्कार पाएको बताए । दोस्रो कुरान वाचन प्रतियोगिता नेपाल मुस्लिम आयोग र साउदी अरब सरकारको सहयोगमा भएको हो । प्रतियोगितामा नेपालका विभिन्न मदरसामा अध्ययनरत विद्यार्थीले सहभागिता जनाएका थिए । ६ विधामा कुरान वाचन प्रतियोगिता आयोजना गरेकोमा २ वटा विधामा किशोरीहरुले सहभागिता जनाएका थिए ।

अनलाइनबाट नेपालका विभिन्न मदरसामा अध्ययनरत ४ सय विद्यार्थी छनोट गरिएकोमा १८ जनालाई पुरस्कार वितरण गरिएको हो । कुरान वाचन प्रतियोगितामा प्रथम हुनेलाई ४ लाख, दोस्रो हुनेलाई २ लाख ४५ हजार बाँकी सबै १६ जनालाई ५४ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । कुरान वाचन प्रतियोगितामा वागमती, गण्डकी, लुम्बिनी, कोशी, मधेस प्रदेशका विद्यार्थीको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !