३ माघ २०८१, बिहिबार

संविधान संशोधन समावेशितालाई थप सुदृढ गर्नका लागि होः गृहमन्त्री लेखक

प्रकाशित मिति :  24 December, 2024 3:12 pm


काठमाडाैं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन समावेशितालाई कमजोर गर्ने नभइ थप सुदृढ गर्नका लागि हुने बताए ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संविधान संशोधनको विषय छलफलमा अघि बढाउन प्रारम्भ गरेको जानकारी दिए ।

उनले संविधानका १० वर्षको अभ्यासका दौरानमा देखिएका संविधानका सबल र दुर्बल पक्षको समीक्षा गरेर मात्रै संविधान संशोधन हुने बताए ।

उनले भने, ‘हामीले संविधान संशोधनको विषयलाई छलफलमा अघि बढाउन प्रारम्भ गरिसकेका छौँ । हामी संविधानका १० वर्षको अभ्यासका दौरानमा देखिएका संविधानका सबल र दुर्बल पक्षको समीक्षा गर्नेछौँ । संविधानमा समासामयिक रुपले परिमार्जन गर्नेछौँ । तर संविधानको संशोधन कुनै एउटा पार्टी वा दुई वटा पार्टीको निर्णयले हुँदैन । हामी तत्कालै केही दिनपछि नेपाली काँग्रेस र नेकपा एमालेको जो दुई ठूला पार्टी सरकारमा छौँ । दुवैको एउटा संयुक्त, कार्यदल बनाएर पनि संविधान संशोधनको छलफलको प्रक्रियालाई प्रारम्भ गर्दैछौँ । ‘

उनले केही दिनपछि नै नेपाली काँग्रेस र नेकपा एमालेले संयन्त्र बनाइ संविधान संशोधनको पहल शुरु गर्ने बताए । सबै राजनीतिक दलहरुसँग वार्ता र संवाद गरी विषयवस्तुहरुमा सहमति गरेर अनिमात्रै संविधान संशोधन हुने भने । 

उनले भने, ‘सबैभन्दा पहिला संविधानको १० वर्षको अभ्यासको समीक्षा गर्छौं । विषयहरुको पहिचान गर्छौं । अर्को चरणमा सबै राजनीतिक दलहरुसँग वार्ता र संवाद गर्छौं । त्यसपछि विषयवस्तुहरुमा सहमति गरेर अनिमात्रै संविधान संशोधन हुन्छ । त्यसमा समय लाग्छ । भोलिको पर्सि संविधान संशोधन हुने होइन । संविधान संशोधन गर्ने भनेको समावेशितालाई कमजोर गर्ने होइन, थप सुदृढ बनाउने हो ।’

गृहमन्त्री लेखकले सरकार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्नेकुरामा प्रतिवद्ध रहेको बताए । उनले संविधानको भावनाअनुसार दलितहरुका हक, अधिकारलाई सुनिश्चित गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !