एउटै व्यक्तिले विद्युत अनुमतिपत्र होल्ड गर्ने प्रवृत्ति कानूनी रूपमा अन्त्य गर्नुपर्छः सांसद शर्मा
काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले विद्युत अनुमतिपत्र होल्ड गर्ने,लाइसेन्स लिने र विक्री वितरण गर्ने कार्य कानूनी रूपमा अन्त्य गर्न आवश्यक रहेको बताएका छन्।
मंगलावार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ताको तर्फबाट संशोधन प्रश्ताव पेश गर्दै सांसद शर्माले जलविद्युत क्षेत्रमा विद्युत अनुमतिपत्र होल्ड गर्ने,लाइसेन्स लिने र विक्री वितरण गर्ने कार्य एउटा विकृतिको रूपमा रहेको बताएका हुन् ।
उनले विद्युत अनुमतिपत्र होल्ड गर्ने,लाइसेन्स लिने र विक्री वितरण गर्ने कार्य रोक्ने गरी कानूनमा व्यवस्था गर्नुपर्नेमा जोड दिए ।उनले एक जना व्यक्तिको आर्थिक क्षमता बमोजिम विद्युत उत्पादन लाइसेन्स दिने व्यवस्था हुनुपर्नेमा जोड दिए । उनले एक व्यक्तिले अनुमति लिने र विक्री गर्ने कार्यको अन्त्य हुन जरुरी रहेको बताए । उनले अहिले २० वटा परियोजना दर्ता भएको बताए । उनले जलविद्युत उत्पादन अनुमतिको व्यवस्थालाई रोक्न सैद्धान्तिक रूपमा व्यवस्था गर्नुपर्ने बताए। उनले पहिला पूर्वका खोला नदीमा लाइसेन्स दिने व्यवस्था रहेको र अहिले पश्चिमतिरका नदी खोलाहरूमा दिन थालिएको बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले विद्युत उत्पादनमा गुरुयोजनाका आयोजनाहरुमा प्राथमिकता दिनुपर्ने बताए । उनले गुरुयोजनाका आयोजनाहरू बनाउनसके आयोजना बन्दा स्थानीयलाई पर्ने असरका विषयमा पनि मध्यनजर गर्न सकिने बताए । उनले बस्ती विकासको अवधारणालाई पनि हेरेर कानूनी व्यवस्था गर्न पर्नेमा जोड दिए । उनले गुरुयोजना विना आयोजनाहरु अगाडि बढाउँदा अहिले पनि समस्या आइरहेको बताए ।