स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
काठमाडौँ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ मा हिजाे राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
गाउँपालिकाकाे वडा नम्बर ३ को बिर्घा–मिर्मी पक्की भित्री सडक खण्डमा आलमबाट बिर्घातर्फ जाँदै गरेको लु. ४ त. ७८३१ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट झण्डै ४० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा परी बाराको गढीमाई नगरपालिका वडा नम्बर ११ बस्ने अन्दाजी २२ वर्षीय सब्दुल अन्सारीको मृत्यु भएको छ । अन्सारीलाई ट्याक्टरले च्यापेको थियो । उनकाे घटनास्थलमा नै मृत्यु भएको कालीगण्डकी–४ का वडा अध्यक्ष यादवप्रसाद पाण्डेले जानकारी दिए ।
सिरक–डसना बनाउने मेसिन जोडेको ट्याक्टर दुर्घटनामा परी बाराको कलैया उपमहानगरपालिका–१० का २४ वर्षीय अर्जुन शाह र कलैया–११ का २६ वर्षीय सलाम मुदिन मन्सुरी गम्भिर घाइते भएका थिए । दुबै जनाको कालिगण्डकी अस्पताल मिर्मी स्याङ्जामा सामान्य उपचार पश्चात थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको प्रहरीले जनाएको छ । गढीमाई नगरपालिका वडा नम्बर ११ का १४ वर्षीय सिकिन्दर यादब भने सकुशल रहेका छन् ।