दुई ठूला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट छैनः स्वास्थ्यमन्त्री पौडेल
काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मुलुकका दुई ठूला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट नभएको बताएका छन् ।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री पौडेलले पाली काँग्रेस र नेकपा एमाले समिकरणमा संसदको झन्डै दुईतिहाई बहुमतको सरकार बनेको बताएका हुन् । उनले यो सरकारले पनि आम नागरिकको अपेक्षाकृत रुपमा काम गर्न नसके अर्को बलियो र फरक परिस्थितिको अनुमान गर्न सक्ने अवस्था नभएको बताए ।
उनले दुई ठूला पार्टी मिलेर बनेको सरकारले काम नगरेर अर्को विकल्पको सरकार बनेर काम गर्नसक्छ भन्ने आशा गर्नसक्ने स्थिति नभएको बताए ।उनले दुई ठूला पार्टी मिलेर सरकार बन्नु आफैँमा राजनीतिक शक्तिहरुको एकीकृत स्वरुप निर्माण हुनुभएको बताए । उनले एकिकृत स्वरुप निर्माण भएपछि जनताले अपेक्षा गरेका काम नगर्ने छुट वर्तमान सरकारलाई नभएको उल्लेख गरे ।
उनले सरकारको जस्तै पत्रकार महासंघमा पनि त्यही परिस्थिति बनेको भन्दै चुनौती पूर्ण सफलतालाई पत्रकारको पेशागत,मर्यादा र योगदानलाई निरन्तरता दिने वातावरण बनाउन जरुरी रहेको बताए ।