१० पुस २०८१, बुधबार

लुम्बिनी सञ्चार खाेज : यस्ता रहे दिनभरका घटना

प्रकाशित मिति :  25 December, 2024 8:17 pm


अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जमा रशिला र प्रिन्सको जोडी पराजित

काठमाडाैँ । नेपालका प्रिन्स दाहाल र रशिला महर्जनको जोडी नेपाल अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जअन्तर्गत मिक्स डबल्सको सेमिफाइनलमा पराजित भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा प्रिन्स र रशिलाको जोडी पराजित भएसँगै नेपाल काँस्य पदकमा नै सीमित भयो । नेपाल नम्बर एकको जोडी सेमिफाइनलमा थाइल्यान्डका नोन्ताकोर्न थोङ अन र कोड्चापोर्न चाइचानाको जोडीसँग २१–१५, २१–१७ को सोझो सेटमा नै पराजित भए ।

यससँगै घरेलु कोर्टमा जारी च्यालेन्जमा नेपालको चुनौती समाप्त भएको छ । नेपाल अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिन्टनमा घरेलु टोलीबाट ९ पुरुष र सात महिला खेलाडीले कुल पाँच विधामा चुनौती प्रश्तुत गरेका थिए । त्यसमध्ये मिक्स डबल्समा कांस्यबाहक नेपाल पदकविहीन बन्यो ।

यसअघि यसै विधामा क्वार्टरफाइनलमा नेपालकै प्रतिद्वन्द्वीबीच प्रतिष्पर्धा हुने तय भएपछि मंगलबार नै घरेलु टोलीको काँस्य पदक पक्का भएको हो ।

प्रिन्स र रशिलाको जोडीले बुधवार नै घरेलु प्रतिद्वन्द्वी क्षितिज खनाल र शोभा गौचनको जोडीलाई २१–११ र २१–१२ ले सहजै हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन् । तर, सेमिफाइनलमा भने प्रिन्स र रशिलाको जोडी थाइल्यान्डको प्रतिद्वन्द्वीसँग पराजित हुन पुगे ।

मिक्स डबल्समा मलेसियाका लाउ यी सेङ र याप रुइ चेनको जोडीले पनि फाइनलमा स्थान बनाए । यो जोडीले सेमिफाइनलमा भारतका हेमानागेन्द्र बाबु थानड्राङ्गी र श्रीललिता सुप्रिया यल्लाप्रागाडाको जोडीलाई २१–१०, २१–९ ले हराएका हुन् ।

महिला एकलमा भारतकी इरा शर्मा र थाइल्यान्डकी ललिनरात चाइवानबीच उपाधि भिडन्त हुने भएको छ । ईराले सेमिफाइनलमा थाइल्याण्डकी तिदापोर्न क्लिबिसुनलाई १५–२१, २५–२३, २१–१५ र ललिनरातले अमेरिकाकी इसिका जैसवाललाई २१–१४, २१–१७ ले हराएका हुन् ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा जारी च्यालेन्जमा नेपालसहित भारत, अमेरिका, थाइल्यान्ड, सिंगापुर, श्रीलंका, बंगलादेश, भियतनाम, क्यानडा, मलेसिया, इन्डोनेसिया, ईरान, ईटाली, संयुक्त अरब इमिरेट्स (युएई), जाम्बिया, युगान्डा, इङ्ल्यान्ड, न्युजिल्यान्ड, म्यानमार, अस्ट्रेलिया, युक्रेन र जापानका कुल एक सय ७४ खेलाडीले यस च्यालेन्जमा प्रतिष्पर्धा गरिरहेका छन् ।

एमालेले भीम रावललाई संगठित सदस्यबाट हटायो

नेकपा (एमाले) ले पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाएको छ ।

बुधबार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी सचिवालयको बैठकले यस्तो निर्णय गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रिय कमिटी सदस्य उषाकिरण तिमल्सिनाको जिम्मेवारी समेत खोसेको छ । पार्टीको भवन निर्माणको सन्दर्भमा विधानभन्दा बाहिर गएर अभिव्यक्ति दिएको भन्दै दुवैजनामध्ये पाण्डेलाई स्थायी कमिटीबाट र तिमल्सिनालाई केन्द्रिय कमिटीबाट ६ महिनाका लागि निलम्वित गरिएको ज्ञवालीले बताए । उनले बैठकमा पार्टी केन्द्रीय कमिटिको आठौँ बैठक यही पुस २१ र २२ गते केन्द्रीय कार्यालय काठमाडौंमा गर्ने निर्णय भएको समेत बताए ।

उनले केन्द्रिय कमिटि बैठकमा राजनीतिक प्रतिवेदन, संगठनात्मक कामहरुबारे जानकारी, विगतमा सचिवालय र स्थायी कमिटिले गरेका निर्णयहरुको अनुमोदन एजेण्डा तय गरेको समेत बताए । उनले बैठटकमा सरकारको पाँच महिनाको कार्यप्रगतिबारे समेत समिक्षा गरिएको बताए ।

बैठकले सरकार सही दिशामा अगाडि बढेको बैठकले निष्कर्ष निकालेको बताए । उनले सरकार अझै राम्रो दिशामा अगाडि बढनुपर्ने आवश्यता बोध गरेको समेत बताए ।

काँग्रेस विपीका विचार अंगालेर अगाडि बढ्न जरुरी-डा. कोइराला


नेपाली कांग्रेसका नेता तथा सांसद डा. शशांक कोईरालाले नेपाली काँग्रेसले विपी कोईरालाका विचार अंगालेर अगाडि बढ्न जरुरी रहेको बताएका छन् ।

बुधवार नेपाली काँग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले कुनै पनि नेताले समाजका लागि सोच्न जरुरी रहेको बताए । समाजका लागि सोचेमात्रै राजनीति हुने बताए ।

आफ्नो मात्र चिन्ता गरेर राजनीति नचल्ने उनको जिकिर छ । उनले नेपाली समाज वर्षौं पुरानो रहेको उल्लेख गर्दै त्यो समाजलाई निरन्तरता दिने काम नयाँ पुस्ताको भएको बताए । देशको विकास र समृद्धिका लागि सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा उनको जोड थियो ।

मुलुकको विकासका लागि काँग्रेसले जति काम अरु कुनै पार्टीले गरेको छैन-नेता सिटौला

पूर्व महामन्त्री सिटौला नेपाली काँग्रेसको १४औँ महाधिवेशन उद्घाटन समारोहमा शुक्रबार शुभकामना मन्तव्य व्यक्त गर्दे काँग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला । तस्बिर: रत्न श्रेष्ठ, रासस


नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकको विकासका लागि नेपाली काँग्रेसले जति काम अरु कुनैपनि पार्टीले नगरेको टिप्पणी गरेका छन् ।

बुधबार काठमाडौँमा आयोजित नेपाली काँग्रेसको १०० दिने पार्टी सुदृढीकरण कार्यक्रममा बोल्दै नेता सिटौलाले यस्तो टिप्पणी गरेका हुन् ।

उनले देशमा भएका सबैजसो परिवर्तनको नेतृत्व नेपाली काँग्रेसले गरेको बताए । उनले संविधान सभाको कुरा नेपाली काँग्रेसले २००७ साल मै उठाएको दाबी गरे । उनले नेपाली कांग्रेसकै पहलमा जनताले प्रथम जननिर्वाचित प्रधानमन्त्री पाएको उल्लेख गरे । निरंकुश राणा साशनको अन्त्यदेखि दरबारिया व्यवस्थाको विरुद्ध काँग्रेसले निरन्तर संघर्ष गरेर लोकतन्त्र ल्याइएको बताए।

पछिल्लो समय जनतामा चरम निराशा रहेको उल्लेख गर्दै उहाँले जनतामा रहेको निराशा चिर्नको लागि सबै मिलेर अगाडि बढ्न आवश्यक रहेको बताए ।

टर्कीको हतियार कारखानामा विस्फोट हुँदा १३ जनाको मृत्यु


टर्कीको उत्तरपश्चिमी बालिकेसिर प्रान्तको कारेसी जिल्लामा रहेको एउटा हतियार कारखानामा मंगलवार भएको विस्फोटमा १३ जनाको मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन् ।

टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले आपतकालीन प्रतिक्रिया टोलीहरूले स्थिति व्यवस्थापन गर्न र घाइतेहरूलाई चिकित्सा सहायता उपलब्ध गराउन काम गरिरहेको बताउनु भयो ।

सन् २०१४ मा सञ्चालनमा आएको उक्त कारखानाले हलुका हतियारका लागि गोलाबारी उत्पादन गरिरहेको बताइएको छ । अधिकारीहरूले विस्फोटको कारणको बारेमा पूर्ण अनुसन्धान शुरु गरेका छन् ।

दुई ठूला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट छैन-स्वास्थ्यमन्त्री पौडेल


स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मुलुकका दुई ठूला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट नभएको बताएका छन् ।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले नेपाली काँग्रेस र नेकपा एमाले समिकरणमा संसदको झन्डै दुईतिहाई बहुमतको सरकार बनेको बताए ।

उनले यो सरकारले पनि आम नागरिकको अपेक्षाकृत रुपमा काम गर्न नसके अर्को बलियो र फरक परिस्थितिको अनुमान गर्न सक्ने अवस्था नभएको बताए ।

उनले दुई ठूला पार्टी मिलेर बनेको सरकारले काम नगरेर अर्को विकल्पको सरकार बनेर काम गर्नसक्छ भन्ने आशा गर्नसक्ने स्थिति नभएको बताए ।

लोकप्रियतावाद र अराजकतालाई सञ्चार क्षेत्रले प्राथमिकता दिनु हुँदैन-वरिष्ठ उपाध्यक्ष पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सञ्चार जगतले लोकप्रियतावाद र अराजकतालाई प्राथमिकता दिन नहुने बताएका छन् ।

बुधबार प्रेस चौतारी नेपाल र प्रेस युनियनले काठमाडौँमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले नेपाली राजनीतिकमा पछिल्लो समय लोकप्रियतावाद र राजनीतिमा अराजकता मौलाउँदै गएको बताए ।

उनले पपुलिजम र राजनीतिकमा अराजकताका विषयमा ध्यान दिन जरुरी रहेको बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले सञ्चार जगतले पत्रकारिताको माध्यमबाट राजनीतिक पार्टीहरुका कमजोरीहरु बाहिर ल्याएर सुधारको लागि सकारात्मक दबाब सिर्जना गर्नुपर्ने बताए ।

उनले नेपालमा गौरवशाली इतिहास बोकेका राजनीतिक पार्टीहरु रहेको बताए । उनले राजनीतिक अराजकता र लोकप्रियतावादको पछाडि लागेर सञ्चार क्षेत्र अघि बढ्दा मुलुकको लागि दुर्भाग्य हुने बताए । उनले पत्रकारीता पनि राजनीतिक अराजकता र लोकप्रियतावादबाट जोगिन जरुरी रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !