११ पुस २०८१, बिहिबार

विद्यालय शिक्षापछिको दुई घण्टा खेलकुदमा लाग्नुस्ः खेलकुदमन्त्री चौधरी

प्रकाशित मिति :  26 December, 2024 11:25 am


काठमाडाैँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बालबालिकालाई विद्यालय शिक्षापछिको समयमा खेलकुदमा लगाउन आग्रह गरेका छन् ।

बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विद्यार्थीमा अहिले मोबाइल चलाउने प्रवृत्ति बढिरहेको भन्दै विद्यालय शिक्षापछिको दुई घण्टा खेलकुदमा लगाउन अभिभावकहरूसँग आग्रह गरेका हुन् । उनले खेलकुदे शारीरिक र मानसिक रुपमा स्वस्थ राख्नुका साथै खराब संगत गर्नबाट जोगाउने बताए । उनले खालि समयमा विद्यार्थीलाई खेलकुदका गतिविधिहरुमा संलग्न गराउन आवश्यक रहेको बताए ।

“आजकालका विद्यार्थीमा धेरै माबाइल चलाउने प्रवृत्ति विकास भएको छ । अभिभावकहरुमा पनि धेरै मोबालाइल चलाउने प्रवृत्ति विकास भएको छ । अभिभावकले त चलाए चलाए, सन्तान पनि बढी मोबाइल चलाउने भए । तपाईंका छोराछोरीहरु साँच्चै सुधार्न चाहनुहुन्छ भने, राम्रो बनाउन चाहनुहुन्छ भने हप्ताको दुई घण्टा, तीन घण्टा खेलकुदमा लगाउन आग्रह गर्दछु । शारीरिक र मानसिक रूपमा राम्रो हुन्छ नै पढाइको स्तर बढ्न सक्छ । खराब संगतमा जानसक्दैन । स्कुलपछिको दुई घण्टा खेलकुदमा लगाउनुस्,” उनले भने ।

मन्त्री चौधरीले बालबालिकालाई उनीहरूले चाहेको खेलकुदका विभिन्न विधामा खेलाउन आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !