स्थानीय तहका विपद् जोखिम न्युनिकरण सम्बन्धी संरचना बलियो बनाउनुपर्छः गृहमन्त्री लेखक
काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्युनिकरणका लागि निर्माण भइसकेका संरचनालाई बलियो बनाउन जरुरी रहेको बताएका छन् ।
बिहीवार काठमाडाैँमा आयोजित राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको संस्थागत क्षमता तथा कार्य जिम्मेवारीलाई प्रभावकारी बनाउने उपायहरूबारेको छलफल कार्यक्रममा बोल्दै उनले संघदेखि स्थानीय तहसम्मका विपद् जोखिम न्युनिकरण सम्बन्धी संरचनालाई बलियो बनाउन जरुरी रहेको बताएका हुन् ।
उनले जोखिमको पहिचान गरेर आवश्यक संरचना निर्माण गर्न जरुरी रहेको बताए । उनले नेपाल विपद् जोखिमको पनि उच्च जोखिममा रहेको उल्लेख गर्दै सबै मिलेर विपद् जोखिम न्युनिकरणका लागि पहल गर्न आवश्यक रहेको बताए । उनले भुगोलको जोखिम, प्राकृतिक जोखिम र मानव सिर्जित जोखिमहरुलाई कम गर्नेगरी अघि बढ्न जरुरी रहेको बताए ।
गृहमन्त्री लेखकले समुदाय र वडामा रहेका विपद् जोखिम न्युनिकरण सम्बन्धी संरचनालाई बलियो बनाउन जरुरी रहेको बताए । उनले समुदायलाई बलियो नबनाएसम्म विपद् जोखिम न्युनिकरण गर्न नसकिने बताए ।उनले समयमै पूर्वसूचना प्राप्त भए जोखिम न्युनिकरणका लागि सहयोगी हुने बताए ।