निश्चित योग्यता पुगेका व्यक्तिले मात्रै हिमाल चढ्न पाउने व्यवस्था गर्छौंः मन्त्री पाण्डे
काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकार पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा भएका कमी, कमजोरीहरूलाई सच्याउँदै अघि बढ्ने दिशामा रहेको बताएका छन् ।
बिहीवार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले सहुलियतपूर्ण हवाई यातायात सञ्चालनका सरकारले बनाएको कार्ययोजना पूर्णरूपमा कार्यान्वयन गर्न नसकिएको उनको स्विकारोक्ति छ ।
उनले हवाई यातायात सहज बनाउनका लागि सरकारले बनाएको कार्ययोजनाको समिक्षा गर्दै मन्त्रालय अन्तसम्बन्धित निकायहरूलाई कार्यान्वयनका लागि आवश्यक निर्देशन दिने बताए ।
उनले देशभरको हवाई यातायात सञ्चालनको लागि भएका कमि कमजोरीहरुलाई सच्याउँदै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले निश्चित योग्यता पुगेको मान्छेले मात्र हिमाल आरोहण गर्न पाउने व्यवस्था गर्नुपर्ने बताए ।
हिमाल आरोहणका क्रममा विभिन्न जोखिमहरुको सामना गर्नुपर्ने भइरहेको उल्लेख गर्दै उनले यस्तो प्रवन्ध गर्नेतर्फ आफ्नो ध्यानाकर्षण भएको बताए । उनले निजी क्षेत्रले निश्चित क्षेत्रसम्म मात्र हेलिकप्टर संचालन गर्न पाउने गरी क्यानले काम गर्नुपर्ने बताए । उनले निजी क्षेत्रका हेलिकप्टर कम्पनीहरूलाई मर्जर गर्दै लैजानुपर्ने बताए ।