रोल्पामा ट्राफिक प्रहरी नायब निरीक्षक घुससहित पक्राउ, विशेष अदालतमा मुद्दा दायर
प्रकाशित मिति : 26 December, 2024 3:42 pm
काठमाडाैँ । रोल्पा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक ललित कुमार बुढाथोकीलाई सेवाग्राहीसँग रु.२५ हजार घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ।
बुढाथोकीले सवारी साधनलाई आवतजावत गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रकम माग गरेको उजुरीका आधारमा अख्तियारको कार्यालय बुटवल र नेपालगञ्जबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
अनुसन्धानका क्रममा बुढाथोकीले रकम लिएको पुष्टि भएपछि अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम बिगो कायम गरी आरोपपत्र दर्ता गरेको छ। आयोगले उनलाई कैद सजाय र बिगो बमोजिम जरिवाना माग गर्दै विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरे बताए ।