११ पुस २०८१, बिहिबार

रोल्पाका ट्राफिक प्रहरी प्रमुखकाे घुस काण्ड: अख्तियारद्वारा विशेष अदालतमा आरोपपत्र दायर

प्रकाशित मिति :  26 December, 2024 4:18 pm


रोल्पा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकीमाथि विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।

सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब निरीक्षक बुढाथाेकीमाथि विशेष अदालतमा आरोपपत्र दायर गरेकाे अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

बुढाथोकीले सवारी साधनलाई आवतजावतमा सहजीकरण गरिदिने नाममा सेवाग्राहीसँग २५ हजार घुस मागेको र उक्त रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको अख्तियारका प्रवक्ता घिमिरेले जानकारी दिए ।

अख्तियारको कार्यालय बुटवल र सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको भन्दै प्रवक्ता घिमिरेले अख्तियारको अनुसन्धानबाट बुढाथोकीले सेवाग्राहीसँग प्रत्यक्ष रूपमा रकम माग गरेको र लिएको पुष्टि भएको बताए ।

प्रमुख प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसार बिगो रकम २५ हजार कायम गरी कैद सजाय र बिगो बराबर जरिवानाको माग गर्दै आरोपपत्र दायर गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !