पश्चिमी न्यून चापीय प्रणाली सक्रियः शुक्रबार र शनिबार वर्षासहित हिमपात हुने
काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण भोलि ९शुक्रबार० साँझदेखि नेपालको धेरैजसो स्थानमा मौसम बदली हुने सम्भावना रहेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गत जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष बुलेटिन अनुसार, पुस १२ र १३ गतेका लागि हिमपात, वर्षा र चिसोका सम्भावित प्रभावबारे सचेत रहन आग्रह गरिएको छ।
महाशाखाका अनुसार, सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा मध्यम हिमपात हुने सम्भावना छ। यस्तै, गण्डकी, बागमती, र कोशी प्रदेशका केही उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हल्का देखि मध्यम हिमपात हुने देखिएको छ।
यसैगरी, सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थान तथा लुम्बिनी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान छ। यो प्रणालीका कारण तापक्रम घट्ने भएकाले चिसो बढ्न सक्ने जनाइएको छ। यसले दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, र हवाई यातायातमा असर पुर्याउने सम्भावना छ।
महाशाखाले सम्पूर्ण सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन र मौसमको अद्यावधिक जानकारी लिन आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाले दैनिक तीन दिने पूर्वानुमान बुलेटिन मार्फत थप जानकारी नियमित रूपमा प्रदान गर्नेछ।