विप्लव नेतृत्वको नेकपा पुसभित्रै निर्वाचन आयोगमा दर्ता हुने, नाम के होला ?
काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पुस महिनाभित्रै निर्वाचन आयोगमा दर्ता हुने तयारी गरेको छ ।
कपिलवस्तुको शिवगढीमा बसेको नेकपाको पछिल्लो केन्द्रीय कमिटी बैठकले चुनावमा भाग लिने निर्णय गरेको थियो ।
बैठकले स्थायी समिति सदस्य कर्णजित बुढाथाेकीलाई निर्वाचन आयोगमा पार्टी दर्ताका लागि जिम्मा तोकेको छ । स्रोतका अनुसार बुढाथाेकीले सबै प्रकृया पुरा गरेर पुस महिना भित्रै पार्टी दर्ता गर्ने जिम्मेवारी पाएका छन् ।
स्रोतले भन्यो,“पुस मसान्तभित्रै निर्वाचन आयोगमा पार्टी दर्ता गरेर जनअभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।”
पार्टीले फागुन ५ गतेदेखि नेपाली विशेषताको समाजवादबारे जागरणका लागि झापाबाट अभियान सुरु गर्ने तयारी गरेको छ ।
अभियानलाई अबको चुनावी तयारीमा जोड्ने नेकपाका एक नेताले बताए । यस्तै नेता कार्यकर्तालाई जिल्ला जिल्लामा परिचालन गरिने छ ।
नाम के होला ?
अहिले बैधानिक रूपमा ‘नेपाल कम्युनिस्ट पार्टी’ नाम ऋषि कट्टेलसँग छ । त्यसैले आयोगमा अर्को नेपाल कम्युनिस्ट पार्टी दर्ता हुने छैन । विप्लव नेतृत्वको नेकपाले पार्टी दर्ताका लागि नयाँ नाम छनौट गर्नुपर्ने छ ।
नेता कार्यकर्ताबाट पार्टीको नाम नेकपा (विप्लव), नेकपा (सि) लगायत राख्न सुझाव आएका थिए । केन्द्रीय कमिटी बैठकले पार्टीको नाम टुङ्ग्याउने जिम्मा केन्द्रीय कार्यालयलाई दिएको छ ।
अहिले नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा पार्टी दर्ताका लागि कम्युनिस्ट पार्टी,नेपाल लगायतका विकल्प राखेर छलफल भइरहेको छ ।
स्रोतले भन्यो,“ नामबारे अहिले विभिन्न विकल्पमा छलफल भइरहेको छ र मिलेसम्म कम्युनिस्ट पार्टी, नेपाल राख्ने की भन्ने छ तर आयोगले के भन्छ हेरौँ ।”