१४ पुस २०८१, आइतबार

शैक्षिक कार्यक्रम उद्यम क्षेत्र र बजारका आवश्यकताहरुसँग मेल खाने बन्न सकेनन्-शिक्षामन्त्री

प्रकाशित मिति :  28 December, 2024 6:33 pm


काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शैक्षिक कार्यक्रमहरु उद्यम क्षेत्र र बजारका आवश्यकताहरुसँग मेल खाने बन्न नसकेको गुनासो गरेकी छिन् ।

शनिबार त्रिभूवन विश्वविद्यालयद्वारा दरशथ रंगशालामा आयोजित ५० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले भौतिक पूर्वाधारको सीमितता, जनशक्तिको व्यवस्थापनमा सहजता नहुनु, अपर्याप्त पुस्तकालय, प्रयोगशाला र विद्यार्थीको मागअनुसार पाठ्यक्रम र विषयहरुलाई प्राथमिकीकरण गर्न नसक्नु जस्ता विषयहरु विश्वविद्यालयको विकासका लागि बाधक बनेको बताइन् ।

उनले विश्वविद्यालयले ज्ञान, आविष्कार र विकासलाई योगदान दिनका लागि अनुसन्धान केन्द्रहरुमार्फत् अनुसन्धानका कामहरु गरिरहेको बताइन् ।

उनले विश्वविद्यालयसँग थुप्रै उपलब्धिहरु हुँदाहुँदै पनि केही चुनौतिहरु रहेको र त्यसको सामना गरी समाधानका व्यवहारिक प्रयत्नहरु गर्न सक्नुपर्ने बताइन् । उनले उपाधि हासिल गरे पनि विद्यार्थीले देशभित्र अवसर प्राप्त गर्न नसकिरहेको भन्दै विदेशलाई पहिलो रोजाई बनाउँदै पढाइ र रोजगारीका लागि विदेशिने प्रवृत्ति राष्ट्रिय चासोको विषय बनेको बताइन् ।

‘‘त्रिभूवन विश्वविद्यालयले ज्ञान, सीप र नवप्रर्वनमा जोड दिँदै एक अविचलित संस्थाको रुपमा आफूलाई स्थापित गरिरहेको छ । व्यवस्थापन, शिक्षा, मानविकी, विज्ञान, कानून, इन्जिनियरिङ, चिकित्सा, कृषि, वनविज्ञानजस्ता विविध विषयहरुमा स्नातकदेखि डाक्टरीसम्मका कार्यक्रमहरुमार्फत शिक्षा प्रदान गरिरहेको छ‘‘, शिक्षामन्त्री भट्टराईले भनिन् ।

मन्त्री भट्टराईले विश्वविद्यालयका चुनौतिहरु समयमै सुधार गर्नुपर्ने बताइन् । चुनौतिका रुपमा देखापरेका विषयलाई सुधार गर्नसकेमात्रै विश्वविद्यालयको उचाईलाई जीवित राख्नसक्ने बताइन् । उनले शैक्षिक कार्यक्रमहरु रोजगार क्षेत्र र बजारको मागअनुरुप सान्दर्भिक बनाउने सुनिश्चितता गर्न सक्नुपर्ने बताइन् ।



प्रतिक्रिया दिनुहोस !