पिताको सिर्जनाभूमिमा पुत्रको कृति लोकार्पित
काठमाडाैँ । स्रष्टा महेन्द्र चालिसेद्वारा लिखित यात्रा संस्मरण ‘लेकबेँसीका सुगन्धहरू’ नामक कृति सार्वजनिक भएको छ । मण्डन देउपुर नगरपालिकास्थित माझीटारमा भएको उक्त कृतिको विमोचन प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे सहित निमन्त्रित अन्य विभिन्न अतिथिहरूले सामुहिक रूपमा गरेका थिए ।
काभ्रेको मण्डन देउपुरको माझीटार क्षेत्र यशस्वी स्रष्टा रमेश विकलको चर्चित आख्यान ‘अविरल बग्दछ इन्द्रावती’को सिर्जनाजभूमि पनि हो । विकलले यसै क्षेत्रमा बसेर उक्त कृति सिर्जना गरेका थिए । सुमन नेपालको स्वागत मन्तव्यनाट शुरू भएको उक्त कार्यक्रममा समालोचकद्वय ठाकुर शर्मा र गोपी मैनालीले पुस्तकमाथि समीक्षात्मक मन्तव्य राखेका थिए भने कृतिकार महेन्द्र चालिसेका दाजु एवं साहित्यकार विजय चालिसेले पनि संक्षिप्त मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रमुख अथिति वरिष्ठ साहित्यक पत्रकार एवं रमेश विकलका प्रिय मित्र रोचक घिमिरेले मित्र विकलको सिर्जनाभूमिमा आएर उनकै सुपुत्रको कृति लोकार्पण गर्न पाउँदा खुशी लागेको बताए । उनले ४०(४५ वर्षअघि यसै क्षेत्रमा विकलसँग पटक पटक सँगै भ्रमण गर्दाका स्मरणीय प्रसङ्गहरू पनि सुनाएका थिए ।
सर्जक महेन्द्र चालिसेले राजधानीदेखि मण्डन देउपुरको माझी गाउँमै आएर आफ्नो कृति सार्वजनिकीकरण गर्नुको उद्धेश्य कृति लोकार्पणका बहानामा पिताको सिर्जनाभूमिसँग स्रष्टाहरूलाई परिचित गराउनु पनि रहेको उल्लेख गरे । काठमाडौँदेखि पुगेका लगभग १०० साहित्यकारहरू सहित स्थानीयको पनि बाक्लो उपस्थितिबिच सम्पन्न उक्त कार्यक्रमको सञ्चालक आलोक चालिसेले र कार्यक्रमको संयोजन प्रतीक घिमिरेले गरेका थिए ।