गणतन्त्रलाई अझ विश्वसनीय र सुदृढ बनाउनु आजको आवश्यकता हाेः देउवा
काठमाडाैँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई अझ विश्वसनीय र सुदृढ बनाउनु आजको आवश्यकता भएको बताएका छन् ।
मंगलवार काठमाडौँमा राष्ट्रिय मेलमिलाप दिवस एवं सय दिने विशेष अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्रलाई सफल पार्न अझ विश्वसनीय बनाउनुपर्ने बताएका हुन् । उनले अहिले राष्ट्रिय मेलमिलापको नीतिबाट एकतावद्ध रुपमा अघि बढिरहेको भन्दै सम्पूर्ण नेपालीलाई एक सूत्रमा एकतावद्ध गर्नुपर्ने बताए ।
सभापति देउवाले सम्पूर्ण नेपालीहरूकाेबिचमा एकता गर्नु आजको आवश्यकता भएको बताए । सबै नेपालीलाई राष्ट्रिय एकताको एक सूत्रमा बाँध्न जरुरी रहेको बताए ।
“आजको यो जुन गणतन्त्र छ, यसलाई सफल पार्न अझ विश्वसनीय बनाउनु हामी सबैको कर्तव्य छ । मलाई लाग्छ, यो गणतन्त्र स्थायी रहन्छ, अझै सुदृढ बनाउनु पर्छ । अझै प्रभावकारी बनाउनु पर्छ । राष्ट्रिय मेलमिलापको नीतिबाट एकतावद्ध रुपमा हामी अघि बढिरहेका छौँ, यसलाई अझ अघि बढाउनु पर्छ । सम्पूर्ण नेपालीहरु चाहे मधेसमा, चाहे पहाडमा र चाहे हिमालमा हुन्, सम्पूर्ण नेपालीहरुको एकता र मेलमिलाप हुनुपर्छ,”उनले भने ।
सभापति देउवाले काँग्रेसका लागि मात्रै नभइ देशभरका सबै नागरिकका लागि नै राष्ट्रिय मेलमिलाप अत्यावश्यक रहेको बताए ।