२ माघ २०८१, बुधबार

अर्जुनचौपारी गाउँपालिका तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति :  31 December, 2024 2:29 pm


काठमाडौँ । स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घ नारायण अर्याल र प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङसहित १२ जनाको विरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्यितार दुरुपयोग अनुसन्धान आयोगका अनुसार २०७५\०७६ र २०७६\०७७ आर्थिक वर्षको विकास योजनाअन्तर्गत स्थानीय बजार क्षेत्रमा निर्माण गरिएका ढलानका कामहरूमा गुणस्तरहीन सामग्रीको प्रयोग गरिएको थियो।यस क्रममा गाउँपालिकाबाट कार्यान्वयन भएका योजनाहरूमा, मेशिन मिक्स कंक्रीट र पिसिसि फर आरसीसी वाेर्केस जस्ता संरचनात्मक कामहरूको ढलान भत्किएका थिए।

यो ढलान भत्किँदा कुल रु. २७,०५,०११.०७ र रु. ८,३४,३२०.५८ बराबरको आर्थिक नोक्सानी भएको थियो। यस घटनाले सार्वजनिक कोषको दुरुपयोग र भ्रष्टाचारका मुद्दाहरूलाई उजागर गरेको छ। यस घटनामा आरोपित १२ जनामाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत विभिन्न कसुरको आरोप लागेको छ र उनीहरूको विरुद्ध कडा सजायको माग गरिएको छ।

आरोपपत्रमा रहेका प्रमुख आरोपितहरूमा इन्जिनियर नबिन थापा, सब-इन्जिनियर सूर्यप्रसाद पौडेल, उपभोक्ता समितिका पदाधिकारीहरू, र अन्य कर्मचारीहरू समावेश छन्।

विशेष अदालतमा दायर आरोपपत्रमा यी सबैलाई भ्रष्टाचार निवारण ऐनको दफा (८) अनुसार कैद र आर्थिक दण्डको माग गरिएको छ। साथै, बिगोको रकम पनि असुल गरिने सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !