२ माघ २०८१, बुधबार

रोल्पाली साहित्यकार अमर अधिकारीको जीवनीमाथि लेखिएको पुस्तक ‘अमर अधिकारीः व्यक्तित्व र कृतित्व’ लोकार्पण

प्रकाशित मिति :  31 December, 2024 3:16 pm


काठमाडौँ । रोल्पाली लेखक तथा साहित्यकार अमर अधिकारीको जीवनीमा आधारित पुस्तक लोकार्पण भएको छ। कवि शिरोमणी लेखनाथ पौड्यालको जन्मजयन्तिको अवसर पारेर २०८१ पुस १५ गते लेखक-साहित्यकार अमर अधिकारीका बारेमा डा.घनश्याम पुडासैनीले लेखेको पुस्तक ‘अमर अधिकारीः व्यक्तित्व र कृतित्व’ लोकार्पण गरिएको हो।

तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजु साँस्कृतिक समाजमा भएको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका पूर्वसचिव तथा गीतकार डा.दामोदर रेग्मीले सरकारी सेवाको सिलसिलामा लेखक डा.घनश्याम पुडासैनी र पुस्तकका पात्र अमर अधिकारीलाई २५ वर्षदेखि नै चिन्दैआएको र दुबैजना असल सहकर्मी रहेको कुरा स्मरण गर्दै प्रस्तुत पुस्तक सङ्ग्रहयोग्य रहेको बताए ।

समारोह समाजका अध्यक्ष तथा सङ्गीतकर्मी ध्रुवराज खड्काले पुस्तकमाथि छोटो विवेचना गरेका थिए भने पुस्तकका प्रकाशक दायित्व वाङमय प्रतिष्ठानका अध्यक्ष एवं समारोहका विशिष्ठ अतिथि राम प्रसाद पन्तले आफ्नो मन्तब्य व्यक्त गरेका थिए । समारोहमा डा.दामोदर पुडासैनी, डा.ऋषिराज खनाल र लेखक डा.घनश्याम पुडासैनी तथा पुस्तकमा चित्रित अमर अधिकारीले पनि छोटो मन्तव्य प्रस्तुत गरेका थिए।

पछिल्लो समय एकवर्षको अवधिमा अमर अधिकारीका दुईसयभन्दा बढी लेख-रचनाहरू प्रकाशन भएको इतिहास छ। सरकारी सेवाको दौरानमा सिंहदरबारमा मात्र बाह्रवर्ष बिताएका अमरका लेखहरू प्रभावकारी र विसङ्गति न्यूनिकरणमा सहयोगी हुनेगरेको देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !