भण्डारण गरिने जलस्रोतका परियोजनाहरूको सम्बन्धमा छुट्टै ऐन बनाउन आवश्यक छः सूर्यनाथ उपाध्याय
काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले भण्डारण गरिने जलस्रोतका परियोजनाहरुको सम्बन्धमा छुट्टै ऐन बनाउन सुझाव दिएका छन् ।
मंगलवार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिका बैठकमा उनले नदीनालाहरू सम्बन्धि परियोजना र ड्याम बनाएर जलस्रोत भण्डारण गर्नुपर्ने परियोजनामा धेरै फरक हुने बताएका हुन् । उनले जलस्रोतको लागि भनेर एउटा ऐन बनाएर मात्र नपुग्ने बताए ।
उनले भण्डारण गरिने जलस्रोतसम्बन्धी ऐन बनाउन नसके जलस्रोतको उपयोग र त्यसबाट मुनाफा लिन नसकिने जिकिर गरे । उनले उर्जा हावाबाट पनि निकाल्न सकिने उल्लेख गर्दै नेपालको सन्दर्भमा पानिको विकल्प नरहेको बताए। उनले पानीको लागि धनि छौं कि गरिब ? भन्ने बहस गर्नुभन्दा उपलब्ध जलस्रोतको सदुपयोगमा ध्यान दिन जरुरी रहेको बताए । समितिले मंगलवार जलस्रोत विधेयकका सम्बन्धमा विज्ञहरुसँग सुझाव लिएको छ ।