भीम रावलको आक्रोशः पार्टीमा स्थान नदिनु केपी ओलीको द्वेष, पूर्वाग्रह, निषेधात्मक चरित्रको प्रतिविम्व
काठमाडाैँ । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रोश व्यक्त गरेकाे छन् ।
पार्टीबाट निकालिएपछि अगामी राजनीतिक यात्राबारे जानकरी दिन बुधवार काठमाडौं पत्रकार सम्मेलनको आयोजना गर्दै उनले पार्टीमा आफ्नो स्थान नहुनु केपी ओलीको द्वेष, पूर्वाग्रह, निषेधात्मक चरित्रको प्रतिविम्व भएको बताएका हुन् । उनले राजनीति आस्था, विश्वास र पारस्परिक सम्मानको आधारमा सञ्चालन हुने भएपनि केपी ओलीले आफूसँग संवाद नै नगरी स्पष्टिकरण सोधेको कारण स्पष्टिकरण नदिएको बताए ।
उनले पाँच दशक पार्टीमा काम गरेको नेतासँग कुरा नगरी सोधिएको प्रष्टिकरण प्रथम दृष्टिमै पूर्वाग्रह, प्रतिशोध र निषेधको मानसिकताको उपज भएको स्पष्ट भएको बताए । कथित स्पष्टिकरणको जवाफ दिनुभन्दा जनतालाई थुप्रै जवाफ दिनुपर्ने आजको आवश्यकता रहेको उनको भनाइ छ । एमालेलाई बिगार्ने र विभाजन गर्न खोज्नेलाई मात्रै ओलीले अवसर दिएको बताउँदै उहाँले पार्टी बनाउनेलाई सदस्यबाट निकालेको गुनासो गरे ।
नेकपा (एमाले) ले उहाँलाई पुस ११ गते पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको थियो । —न्युज एजेन्सी नेपाल