२० पुस २०८१, शनिबार

खेलक्षेत्रको समग्र विकास गर्न अभिभावकत्व प्रदान गर्छौं-मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  1 January, 2025 4:36 pm


बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशभित्र खेल क्षेत्रको समग्र विकास गर्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने बताएका छन् ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसका अवसरमा बुटवलमा मदन भण्डारी गोल्डकप ईन्डो नेपाल रनिङ्गशिल्ड पुरुष भलिवल च्याम्पियनसीप २०८१ को उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले खेल क्षेत्रको विकास र खेलाडिहरुको उत्साह कायम राख्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने बताएका हुन् ।

‘‘प्रदेशभित्र सबै प्रकारको खेल क्षेत्रलाई समुचितरुपमा विकास गर्न, खेलाडीहरुमा उत्साह बढाउन र बढेको उत्साहलाई कायम राख्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्दछ । हामी खेल क्षेत्रको विकास गर्न तयार छौं’‘, मुख्यमन्त्री आचार्यले भने, ‘‘खेल पूर्वाधार, खेलाडी उत्पादन र नियमित प्रतियोगीताहरु सञ्चालन गरेर खेल क्षेत्रको विकास गर्न सकिन्छ ।’‘

खेलाडी उत्पादन गर्न, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा देशको नाम चिनाउन मदन भण्डारी स्पोर्टस् एकेडेमीको भूमिका मत्वपूर्ण रहेको मुख्यमन्त्री आचार्यले स्मरण गरे ।

‘‘मदन भण्डारी स्पोर्टस् एकेडेमीको स्थापनादेखि हालसम्म खेलाडी उत्पादनका साथै खेल क्षेत्रको विकासमा थुप्रै उपलब्धि हासिल भएका छन्’‘, उनले भने, ‘‘यो उत्साहलाई कायम राख्दै थप रचनात्मक कामहरु गरेर अघि बढ्नुपर्ने आवश्यकता छ ।’‘

२४ गतेसम्म चल्ने उक्त प्रतियोगितामा नेपाल र भारतका विभिन्न आठ वटा समूहले प्रतिष्पर्धा गर्दैछन् । ती समूहमा मदन भण्डारी स्पोर्टस एकेडेमी, त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, एपीएएफ क्लव, मणिमुकुन्द भलिबल क्लव, गुजरात स्टेट भलिवल एशोसिएशन (भारत), गलकोट भलिबल क्लव, रुकुम पश्चिम भलिवल प्रशिक्षण केन्द्र रहनेछन् ।

प्रतियोगितामा प्रथम पुरस्कार सात लाख, द्वितीय पुरस्कार तीन लाख पचास हजार, तृतीय पुरस्कार एक लाख पचहत्तर हजार, सान्त्वना पुरस्कार एक लाख रुपैयाँ नगद तथा ट्रफी, मेडल र प्रमाण पत्र रहनेछ । उत्कृष्ट खेलाडीलाई पच्चिस हजार तथा विभिन्न विधामा आकर्षक पुरस्कार रहेको छ ।



प्रतिक्रिया दिनुहोस !