२० पुस २०८१, शनिबार

ट्रेड युनियन दर्ता दिवसको अवसरमा फुटबल प्रतियोगिता

प्रकाशित मिति :  1 January, 2025 4:58 pm


दाङ । ट्रेड युनियन दर्ता दिवस २०८१ को उपलक्ष्यमा नेपाल निजामती कर्मचारी संगठनले मैत्रीपूर्ण फुटबल प्रतियोगीता सम्पन्न भएको छ ।

दिवसको अवसर पारेर संगठनको दाङ जिल्ला समितिको आयोजनामा कर्मचारी, शिक्षक र बैंकर्सका बिचमा मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरेको कार्यक्रम संयोजक मोहनसिंह सुनारले जानकारी दिए ।

पेशागत चारवटा टिमको सहभागीता रहेको प्रतियोगितामा घोराही उपमहानगरपालिकाको कर्मचारी टिम प्रथम भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठनलाई २–० गोलले पराजित गर्दै घोराही उपमहानगरपालिका कर्मचारी टिम विजयी भएको हो ।

घोराही उपमहानगरपालिकाका टीम कप्तान मोहनसिंह सुनारले दुई गोल गर्दै सर्वाधिक गोलकर्ताको उपाधि हात पारेका छन् । उत्कृष्ट खेलाडीका रूपमा घोराही उपमहानगरपालिकाका शरद भण्डारी र उत्कृष्ट गोलकिपरको रूपमा शिक्षक संगठनका विशाल भण्डारी घोषित भएका छन् ।

यसपूर्व पहिलो खेलमा घोराही उपमहानगरपालिकाले द घोराही बैंकर्सलाई १–० गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । दोस्रो खेल तुलसीपुर उपमहानगरपालिकाको कर्मचारी टिम र नेपाल राष्ट्रिय शिक्षक संगठन, घोराही बीच भएको थियो । निर्धारित समयमा कुनै गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो, जहाँ शिक्षक संगठनले ४–२ गोलले जित हात पारेको थियो ।

जिल्ला अध्यक्ष शेरबहादुर केसीको अध्यक्षता एवं दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य एवं दाङ इञ्चार्ज गोकर्ण वली, लुम्बिनी प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव तिरणदाज गौतमले मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका पूर्व अध्यक्ष दामोदर बस्नेत, शिक्षक संगठनका अध्यक्ष मिनराज शर्मा, बयालडाँडा चौतारी क्लवका अध्यक्ष नारायण भुसाल, पेशागत महासंघ नेपालका निर्वाचन आयोगका अध्यक्ष उद्दव न्यौपाने, पेशागत महासंघ दाङका कोषाध्यक्ष सुरेश शर्मा, घोराही बैंकर्सका अध्यक्ष उमंग अधिकारी र घोराही उपमहानगरपालिका खेलकुद विकास समितिका संयोजक नरेन्द्र पुनलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण संगठनका जिल्ला सह सचिव एवं कार्यक्रम संयोजक मोहनसिंह सुनारले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !