२० पुस २०८१, शनिबार

दाङका विद्यार्थीले मर्मत गरे रोल्पाका विद्यालयमा बिग्रेका कम्प्युटर

प्रकाशित मिति :  2 January, 2025 8:21 am


दाङ । कम्प्युटर ल्याबको कोठा पुरै भरिने गरी कम्प्युटरहरु छन् । तर, त्यहाँ विद्यार्थीहरु पसेर नचलाएको केयाै‌ दिन भयो । कम्प्युटरको मोनिटरमा लागेको धुलोले नै यसको संकेत गर्दछ । तिनै कम्प्युटरमा लागेको धुलो सफा गरेर बन्द रहेका कम्प्युटर सुचारु गर्नका लागि दुई जना युवाहरुलाई हम्मे हम्मे परेको छ ।

दुई दिनको निरन्तर खटाइपश्चात् कम्प्युटर ल्याबमा रहेका कप्प्युटर सफा मात्रै भएनन् बन्द अवस्थामा रहेका कम्प्युटर सञ्चालनमा समेत आए र केयौं दिनपछि विद्यार्थीहरुले कम्प्युटरका किबोर्ड थिच्न थाले ।

थवाङ्ग रोल्पामा रहेको वीर बलभद्र माध्यमिक विद्यालयमा बिग्रेर थन्किएका कम्प्युटरहरु तुलसीपुर मेट्रो कलेजमा आइटी अध्ययन गर्ने विद्यार्थीहरु आशिष चौधरी र अमित केसीले विद्यालयमै पुगेर मर्मत गरेका हुन् । एउटा विद्यालयको आवश्यकतालाई अर्को विद्यालयले पुरा गर्नका लागि सहयोग गर्ने परम्परा बसाल्नका लागि कलेजले यस्तो अभियान सञ्चालन गरेको हो ।

कलेजमा आइटि अध्ययनरत विद्यार्थीहरुले बिग्रेका कम्प्युटर मर्मत गरेर बन्द अवस्थामा रहेको ल्याब सञ्चालनमा ल्याएका हुन् । विद्यालयको आर्थिक स्रोत सिमित हुने भएकाले कम्प्युटर मर्मतका लागि समस्या उत्पन्न भएको अवस्थामा कलेजले नै व्यवस्थापन गरेर मर्मत गरिदिदा नियमित ल्याब सञ्चालन गर्न सहज भएको विद्यालयका प्रधानाध्यापक कुलबहादुर ओलीले बताए ।

‘‘सामान्यरुपमा बिग्रिएको भए पनि मर्मत गर्ने जनशक्ति नहुँदा समस्या आएको थियो, कलेजले नै जिम्मा लिएर मर्मत गरिदिएपछि विद्यालयले धेरै भार थेग्नु नपर्ने भयो’‘, प्रधानाध्यापक ओलीले भने ।

मर्मत गर्ने जनशक्तिको अभावमा कम्प्युटरहरु थन्किएको सूचना थाहा पाएपछि कलेज मै अध्ययनरत विद्यार्थीहरुसँग सहयोग लिएर मर्मत गरिएको कलेज प्रमुख वसन्त आचार्यले बताए ।

उनले आइटीको प्रिडिप्लोमा तह अध्ययनरत विद्यार्थीहरुले कम्प्युटर मर्मत गरिदिएको पनि बताए । ‘‘हामीले जनशक्तिको सहयोगका साथै आवश्यकता अनुसार उपकरण पनि सहयोग गर्नेछौं’‘ कलेज प्रमुख आचार्यले बताए । उनले एउटा विद्यालयले सानो सहयोग गर्दा अर्को विद्यालयको पठनपाठन मै सहयोग पुग्छ भने सहयोग गर्नुपर्ने बताए ।

विद्यालयमा कम्प्युटर सामान्यरुपमा मात्रै विग्रिएको हुँदा अधिकांश कम्प्युटर मर्मत गरेपछि सञ्चालनमा आएको पनि विद्यालयका प्रधानाध्यापक ओलीले बताए ।

विद्यालयको केही डेस्क बेन्च पनि भाचिएकाले मेकानिकल अध्ययन गर्ने विद्यार्थीहरुलाई परिचालन गरेर मर्मत गरिने कलेज प्रमुख आचार्यले बताए ।



प्रतिक्रिया दिनुहोस !