कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन कृषिमन्त्री अधिकारीको आग्रह
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रमा इजरायलले गर्दे आएको सहयोग आगामी दिनमा पनि निरन्तर रहने अपेक्षा व्यक्त गरेका छन् ।
आज सिहंदरवार स्थित मन्त्रालयमा नेपालका लागि इजरायलका राजदुत स्मुलिक बाससँग भएको शिष्टाचार भेटवार्तामा मन्त्री अधिकारीले नेपाल र इजरायल वीच ६५ वर्ष देखिको मैत्रीपुर्ण सम्बन्ध रहिआएकाे उल्लेख गर्दे दुई मूलूक वीच भएको कृषि क्षेत्रमा सहकार्य सम्वन्धी सम्झौता नवीकरणका लागि पहल गर्न राजदुत समक्ष आग्रह गरे ।
मन्त्री अधिकारीले नेपाल र इजरायलबिच सम्झौता भई कार्यन्वयनमा आएको ‘कमाउ र सिक’ कार्यक्रमले नेपाली युवाहरूलाई अवसर सृजना गरेको भन्दै यसलाई पुनः निरन्तरता दिन आग्रह गरे । इजरायलले नेपाली विधार्थीहरुलाई उपलब्ध गराउदै आएको छात्रवृतिले नेपालको कृषि क्षेत्रमा महत्वपुर्ण सहयोग पुगेको भन्दै मन्त्री अधिकारीले नेपालको कृषिको विकासका लागि इजरायल सरकारसँग भएको सम्झौता अनुरुप सेन्टर फर एक्सीलेन्स स्थापनाका लागि क्षेत्रहरुको छनौट भैसकेकाले सेन्टर स्थापनाका लागि पहल गर्न राजदुत समक्ष आग्रह गरे ।
करिव ५ हजार नेपालीहरू हाल इजरायलमा कार्यरत रहेको र यसबाट उनीहरूको जीवनस्तरमा समेत सुधार आएको भन्दै मन्त्री अधिकारीले आगामी दिनमा देश र जनताको पारस्परिक हितका लागि बहुपक्षीय सहयोग जारी रहने अपेक्षा व्यक्त गरे ।
त्यस क्रममा राजदुत बासले इजरायलले नेपालको कृषि क्षेत्रमा प्रविधि हस्तान्तरण मार्फत आगामी दिनमा थप सहकार्य गर्न चाहेको बताए । राजदुत वासले यसै वर्ष नेपालले छनौट गरेका क्षेत्रमा कृषिका लागि सेन्टर फर एक्सीलेन्स स्थापनाका लागि पहल गर्ने प्रतिबद्दता व्यक्त गरे ।
कृषि क्षेत्रमा नेपाली कामदार लैजान सकिने सम्भावना रहेको भन्दै राजदुत बासले कृषि क्षेत्रको विकासका लागि विगतमा दुई देश वीच भएका सहमतीहरुको कार्यन्वयनमा आफुले ध्यान दिने पनि राजदुत बासले बताए ।