मानवलाई सडकमा आउन नपर्नेगरी भूमिका बढाउन जरुरी छ–मुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निलसागर सेवा आश्रमको नव निर्मित भवनको उद्घाटन गरेका छन् । राप्ती गाउँपालिका–८ मिलनडाँडामा सहयोगापेक्षीहरुका लागि नव निर्मित भवनको बिहीबार उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मानवलाई सडकमा आउन नपर्नेगरी घरपरिवार, समाज र राज्यले भूमिका निर्वाह गर्न आवश्यक रहेको बताए ।
अमानवीय व्यवहारका कारण मानिसलाई घरबाट सडकमा पुर्याएको उल्लेख गर्दै उनले यसखाले समस्या समाधान गर्न चेतना अभिवृद्धिको अभियानलाई व्यापक बनाउन प्रदेश सरकारले साझेदारी गर्ने बताए ।
‘‘अमानवीय वर व्यवहारले मानिसलाई सडकमा पुर्याएको छ । यसखाले समस्या समाधानकालागि मानिसमा चेतना बढाउन जरुरी छ’’, उनले भने, ‘‘आफ्नै सन्तानलाई सडकमा छाडेका घटना पनि छन् । मानिसले यस्तो कसरी गर्न सक्छ ? कारण खोजेर चेतना अभिवृद्धिकोलागि ध्यान दिन जरुरी छ ।’’
संविधानले हरेक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको र त्यसको कार्यान्वयन गर्ने दायित्व राज्यको भएको मुख्यमन्त्री आचार्यले बताए ।
‘‘संविधानले हरेक नागरिकलाई सम्मानपूर्वक बाच्न पाउने अधिकार सुनिश्चित गरेको छ । यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी तीन तहकै सरकारको हो । हामिले त्यो जिम्मेवारी निर्वाह गर्छौं’’, मुख्यमन्त्री आचार्यले भने, ‘‘प्रदेशलाई सडक मानव मुक्त बनाउने अभियानलाई निर्णायक बनाउन सबैको साथ सहयोगको खाँचो छ ।’’