सेवा प्रवाह, विकास निर्माण र अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्छ-एमाले
काठमाडौँ । नेकपा एमाले को सचविालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको राजनीतिक प्रतिवेदन केन्द्रिय कमिटीमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।
सचिवालय बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले पुस २१ र २२ गते बस्ने केन्द्रिय कमिटीका निम्ति तयार गरिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरेको जानकारी दिए ।
उनले राजनीतिक प्रतिवेदनका मुख्य मुख्य विषयहरुमा छलफल भएको पनि बताए । उनले प्रतिवेदनमा पछिल्लो राजनीतिक अवस्थाको विवेचना गरिएको बताए ।
नेकपा एमाले र नेपाली काँग्रेसबीचको सत्ता सहकार्यको औचित्य, आवश्यकता र सिर्जना गरेका अवसरहरुका बारेमा प्रतिवेदनमा उल्लेख गरिएको बताए । साथै सरकार गठन यताको ६ महिनाको समीक्षा गरिएको पनि बताए ।
सरकारले ६ महिनामा महत्वपूर्ण उपलब्धि हाँसिल गरेको तर पर्याप्त नरहेको निष्कर्ष पार्टीको रहेको ज्ञवालीले बताए । नागरिकलाई सेवा प्रवाह, विकास निर्माण, अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्ने बताए ।