प्रचण्डलाई महेश बर्तौलाको आग्रहः समाज विभाजित गर्ने अभिव्यक्ति नदिनुहोला
काठमाडाैँ । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले समाजलाई विभाजित हुने किसिमका अभिव्यक्तिहरू राजनीतिक नेतृत्वले दिनु नहुने बताएका छन् ।
शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेताहरूको अभिव्यक्ति, व्यवहार र कार्यशैली समाजलाई विभाजित गर्ने परिस्थितितर्फ उन्मुख भएको बताएका हुन्। उनले राजनीतिक नेतृत्वले समाजमा जहिले पनि सकारात्मक सन्देश संप्रेषण गर्न जरुरी रहेको बताए ।
उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै भविष्यमा कतै भेटै नहुनेगरी अभिव्यक्ति नदिन आग्रह गरे ।उनले पदहरू अस्थायी रहेकाले सहिष्णुता कायम गर्ने र मुलुक र जनतालाई केन्द्रमा राखेर अघि बढ्ने कुरा नै स्थायी हुने उल्लेख गरे ।
प्रमुख सचेतक बर्तौलाले राजनीतिक नेतृत्वबाट देशमा सकारात्मक सन्देश जाने गरीकन अभिव्यक्ति दिनुपर्ने बताए ।