उत्तरदायी र व्यवसायिक पत्रकारिता आजको आवश्यकता–मुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चार क्षेत्रको सवलीकरणका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेर सञ्चार ऐनलाई संशोधन गर्ने प्रक्रिया अघि बढाएको बताएका छन् ।
प्रेस चौतारी नेपाल दाङबाट प्रतिनिधित्व गर्दै नेपाल पत्रकार महासंघमा नवनिर्वाचित पदाधिकारी, सदस्य, केन्द्रीय परिषद् सदस्य एवम् प्रदेश परिषद् सदस्यलाई बधाइ ज्ञापन गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सञ्चार माध्यमलाई बलियो बनाउन र संरक्षण गर्न सञ्चार ऐनलाई संशोधन गरेर सुधार गरिने बताएका हुन् ।
‘‘सञ्चार ऐनलाई संशोधन गरेर भए पनि मिडिया क्षेत्रमा देखिएका समस्या समाधान गर्ने सरकारको योजना छ । यो काम अघि बढेको छ’’, उनले भने, ‘‘प्रदेश सभाको हिउँदे अधिवेशनबाट ऐनलाई संशोधन गरेर मिडिया क्षेत्रको कामलाई प्रभावकारी बनाउने योजना छ ।’’
उत्तरदायी र व्यवसायिक पत्रकारितालाई जोड दिँदै मुख्यमन्त्री आचार्यले पछिल्लो समय देखिएका विकृति र विसंगति अन्त्यका लागि स्वयं पत्रकारिता क्षेत्र सजग र चनाखो हुनुपर्ने धारणा राखे । ‘‘मर्यादित र व्यवसायिक पत्रकारिता आजको आवश्यकता हो । तर, केही विकृति र विसंगति भित्रिएका छन् । त्यसलाई निर्मूल पार्न जरुरी छ’’, उनले भने, ‘‘प्रदेश सरकार पत्रकारहरूको हकहित सुनिश्चित गर्न दृढ र प्रतिबद्ध छ ।’’
आम सञ्चार माध्यमको विकासका लागि प्रदेश सरकारले साझा नीति अवलम्बन गरेको र सबै क्षेत्रको सन्तुलित विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
‘‘सबै मिडियाको सुरक्षाका लागि सरकारले ध्यान दिएको छ । विज्ञापनलाई एकीकृत रूपमा वितरण गर्ने गरी नीतिगत सुधार गर्ने योजनामा छौं’’, उनले भने, ‘‘प्रदेशभित्रका सबै सञ्चार माध्यम र पत्रकारहरूलाई साझा रूपमा सम्बोधन गर्ने नीति प्रदेशको छ ।’’ हरेक क्षेत्रमा श्रेष्ठता हासिल गर्नेगरी क्रियाशील हुन आह्वान समेत गरे ।
प्रेस चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रेस काउन्सिल नेपालका केन्द्रीय सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, नेकपा एमाले दाङ प्रचार विभाग प्रमुख संगीत बस्याललगायतले उत्तरदायित्वसहितको स्वतन्त्र पत्रकारितालाई प्राथमिकतामा राखेर प्रदेश सरकारले नीतिगत सुधार गरेर जान आवश्यक रहेकोमा जोड दिए । कार्यक्रमको सञ्चालन चौतारी दाङका सचिव किरण गौतमले गरेका थिए ।