राप्ती गाउँपालिकामा पहिलो पटक कृषि हाट बजार सञ्चालनमा
कृषकहरूको हित संरक्षण गर्नु र उनीहरूको उत्पादनलाई उचित मूल्यमा बजारसम्म पुर्याउने उद्देश्यले हाट बजार सञ्चालनमा ल्याएको जानकारी
लक्ष्मी पोखरेल,
दाङ । दाङको राप्ती गाउँपालिकामा पहिलो पटक कृषि हाट बजार सञ्चालनमा आएको छ । गाउँपालिकाले वडानम्वर–३ मसुरियादेखि उत्तरपट्टि रहेको सिरीचौर मैदानमा शुक्रबारदेखि हाट बजार सञ्चालनमा ल्याएको हो ।
हरेक शुक्रबार सञ्चालन हुने हाट बजार स्थानीय किसानहरूले आफ्नो उत्पादन बिक्री गर्ने एउटा प्रभावकारी माध्यम बनेको छ ।कृषि हाट बजार सञ्चालनमा आएसँगै किसानहरूमा उत्साह देखिएको छ । स्थानीय कृषकहरूले आफ्नो उत्पादन आफैंले बिक्री गर्न पाउने अवसर पाउँदा अत्यन्त खुसी भएका छन् ।
उत्पादित वस्तुलाई बजारसम्म पुर्याउने झन्झटबाट मुक्ति पाएपछि कृषकहरु हर्षित भएका छन् । हाट बजारले उपभोक्ताहरूलाई पनि लाभान्वित बनाएको ताजा र स्थानीय उत्पादन उपलब्ध हुने भएकाले उपभोक्ताहरू ताजा तरकारी, फलफूल, दूधजन्य पदार्थजस्ता सामग्री किन्नका लागि उत्साहित देखिन्छन् ।
हाटबजारबाट कृषकहरुको आर्थिक स्थिति सुधार्न सहयोग पुग्ने विश्वास गाउँपालिकाले गरेको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले उपभोक्ता र कृषकलाई जोड्न हाटबजार सञ्चालनमा ल्याएको जानकारी दिए । स्थानीय उत्पादनको उपभोगले उपभोक्ताहरूलाई गुणस्तरीय र स्वस्थ्यकर सामग्रीको उपभोग गर्नसक्ने वातावरण मिलाएको अध्यक्ष बिष्टले जानकारी दिए ।
कृषि हाट बजारको व्यवस्थापनको जिम्मा गाउँपालिकाले लिएको जनाउँदै पालिका अध्यक्ष बिष्टले कृषकहरूको हित संरक्षण गर्नु र उनीहरूको उत्पादनलाई उचित मूल्यमा बजारसम्म पुर्याउनु हाट बजारको उद्देश्य रहेको जानकारी दिए ।
“कृषि उपजको बजारीकरणलाई व्यवस्थित र सहज बनाउन हामीले यो हाट बजार सञ्चालनमा ल्याएका हौं”, अध्यक्ष बिष्टले भने, “निर्वाचनका प्रतिबद्धता पुरा गरेका छौं । हामीले स्थानीय उत्पादनको बजारीकरणलाई जनतामाझ प्रतबिद्धता जनाएका थियौं । स्थानीय उत्पादनले मूल्य नपाउने भएपछि कृषकहरुले आफ्नो उत्पादन आफै बेच्न पाउँदा बिचौलियाको चलखेल कम हुनेमा बिश्वास लिएका छौं ।”
अध्यक्ष बिष्टले कृषकहरूको उत्पादन बजारसम्म पुर्याउन अहिलेको कृषि हाट बजारले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । उनले यसले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने र आयातमा निर्भरता घटाउने उद्देश्यमा पनि सहयोग पुग्ने बताए ।
कृषि हाट बजारले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा गाउँपालिकाले गरेको उपाध्यक्ष कमलापति चौधरीले जानकारी दिइन् । उपाध्यक्ष चौधरीका अनुसार हाटबजारले किसानहरूलाई उत्पादनमा थप लगानी गर्न हौसला दिनेछ भने उपभोक्ताहरूलाई पनि सस्तो र गुणस्तरीय सामग्री प्राप्त गर्न मद्दत गर्नेछ । हाट बजारले कृषक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क गराउँदै दुवै पक्षलाई लाभान्वित गर्ने विश्वास गरिएको उनले जानकारी दिइन् ।
पालिकाले हाट बजारलाई व्यवस्थित र दीर्घकालीन बनाउनका लागि केही विशेष योजना अघि सारेको अध्यक्ष बिष्टको भनाइ छ । पालिकाले स्थानीय स्तरमा उत्पादित सामग्रीको माग र आपूर्तिलाई मिलाउन विशेष ध्यान दिने योजना बनाएको उहाँको भनाइ छ । हाट बजारमा सहभागी किसानहरूलाई कृषि सम्बन्धि तालिम, प्राविधिक सहयोग र उचित बजार मूल्य निर्धारणमा सहयोग गर्ने योजना पनि पालिकाले अघि सारेको छ ।
बजारले स्थानीय क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको अध्यक्ष बिष्टले जानकारी दिए । ‘‘स्थानीय उत्पादनको खपत बढाउने, कृषकहरूको आम्दानी वृद्धि गर्ने र आयात प्रतिस्थापनमार्फत् आर्थिक सन्तुलन कायम गर्न हाट बजारले सहयोग पुर्याउनेछ’’, अध्यक्ष बिष्टले भने, ‘‘यसले मात्र नभई स्थानीय स्तरमा रोजगारीको सिर्जना गर्ने र ग्रामीण अर्थतन्त्रलाई सबल बनाउनेमा पनि टेवा पुर्याउनेछ ।’’
राप्ती गाउँपालिकामा पहिलो पटक सञ्चालनमा आएको कृषि हाट बजारले स्थानीय कृषक र उपभोक्ताहरूलाई प्रत्यक्ष लाभ पु¥याउने मात्र नभई क्षेत्रीय आर्थिक विकासमा पनि महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ ।