मेट्रो काठमाडाैँ अस्पताल र ट्रक व्यवसायी महासंघ बिच घाइते उपचारमा सम्झौता
काठमाडौँ । मेट्रो काठमाडौँ अस्पताल प्रा.लि. र नेपाल ट्रक यातायात व्यवसायी महासंघ बिच सवारी दुर्घटनामा घाइते भएका व्यवसायीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विशेष सम्झौता भएको छ।
उक्त सम्झौतामा हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत टोपेन्द्र प्रकाश ओली र महासंघको तर्फबाट महासचिव राजेन्द्र विक्रम बाँनियाले हस्ताक्षर गरेका हुन् ।
महाराजगञ्जस्थित मेट्रो काठमाडौँ अस्पतालले महासंघमा आवद्ध व्यवसायीहरूको आकस्मिक अवस्थामा उपचार सहज बनाउन सहमति जनाएको हो ।
सम्झौताअनुसार, दुर्घटनामा परेका बिरामीको उपचार तत्काल सुरू गरिनेछ। बिरामीलाई आकस्मिक कक्षमा भर्ना गरी आवश्यक सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ।
महासंघले उपचारका लागि आवश्यक कागजात र आर्थिक व्यवस्थापन गर्ने जिम्मेवारी लिनेछ। अस्पतालले बिरामीको उपचार खर्चमा विशेष छुटको पनि घोषणा गरेको छ।
५ लाखभन्दा कमको उपचार खर्चमा १५ प्रतिशत र ५ लाखभन्दा माथिको खर्चमा २० प्रतिशत छुट दिने सहमति भएको छ। त्यस्तै, अस्पतालको फार्मेसीबाट खरिद गरिने औषधिमा १० प्रतिशत छुटको सुविधा उपलब्ध गराइनेछ।
बिमा प्रक्रियालाई सहज बनाउन अस्पतालले आवश्यक कागजात उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। महासंघका महासचिव बाँनियाले सम्झौता दुर्घटनापछि व्यवसायीहरूको जीवनरक्षा गर्न महत्वपूर्ण हुने बताए।
मेट्रो काठमाडाैँ अस्पतालका प्रमुख कार्यकारी अधिकृत ओलीले गुणस्तरीय उपचार सेवा सुनिश्चित गर्ने अस्पतालको प्रतिबद्धता दोहोर्याएका छन् । सम्झौताले महासंघमा आवद्ध व्यवसायीहरूलाई आकस्मिक स्वास्थ्य सेवाको पहुँचमा सहजता ल्याउने विश्वास गरिएको छ।