तीनवटै तहका सरकार पारदर्शी हुनुपर्छ–केन्द्रीय सचिव प्रियासन
दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हाम्रा तीन ओटै तहका सरकार पारदर्शी हुनुपर्ने बताएका छन् ।
नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति दाङले नेपाल पत्रकार महासंघ दाङ जिल्लाबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आयोजना गरेको बधाइ तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले परादर्शीता विना सुशासन कायम हुन नसक्ने धारणा व्यक्त गरेका हुन् ।
‘‘कर्मचारी तन्त्र मुलुकको स्थायी सरकार हो, कर्मचारीहरुले सुशासन कायम गर्न विशेष ध्यान दिनुपर्छ’’, उनले भने, ‘‘अहिल इमान्दार कर्मचारीहरुले धेरै राम्रो काम गरिरहनुभएको छ । तर, केही गलत प्रवृत्तिका व्यक्तिहरुका कारण कर्मचारीतन्त्र बदनाम हुन पुगेको छ ।
अहिले स्थानीय तह र प्रदेश सरकारले विज्ञापनमा स्पष्ट नीति नबनाउँदा केही व्यक्तिको स्वार्थका कारण यहाँको स्थानीय विज्ञापन चोर बाटोबाट जिल्ला र प्रदेश बाहिर गइरहेको बताए ।
‘‘अहिले मिडियाहरु आर्थिक संकटमा परिरहेका छन् । मिडिया संकटमा पर्दा त्यहाँ कार्यरत श्रमजीवी पत्रकारहरुको पेशा नै संकटमा परेको छ’’, उनले भने, ‘‘मिडियालाई बचाउनु राज्यको दायित्व हो, मिडिया बलियो नहुँदासम्म लोकतन्त्र बलियो हुन सक्दैन ।’’
मिडियाको सुरक्षा गर्नु भनेको पत्रकारको सुरक्षा मात्र नभएर मुलुकको लोकतन्त्र, मानव अधिकार र सुशासनको सुरक्षा भएको प्रियासनको भनाइ छ ।
उनले राज्यले स्पष्ट योजना बनाएर स्थानीय तहका विज्ञापन सम्बन्धित जिल्लामा मात्र र प्रदेश तहको विज्ञापन प्रदेश तहमा समानुपातिक ढंगले वितरण गर्नुपर्ने धारणा व्यक्त गरे ।
पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले कर्मचारी र पत्रकारहरुबीच सूचना आदानप्रदानमा सुमधुर सम्बन्ध हुनुपर्ने आवश्यकता औंल्याए । कर्मचारी संगठनका जिल्ला अध्यक्ष शेरबहादुर केसीले आफूहरु पत्रकारहरुसँग निरन्तर सहकार्य गरेर अघि बढ्ने जानकारी दिए ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन प्रियासन, केन्द्रीय सदस्य लिला शाह, लुम्बिनी प्रदेश महासचिव पाण्डव शर्मा, जिल्ला अध्यक्ष सन्तोष सुवेदी लगायत सम्पूर्ण तहमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन संगठनका जिल्ला सहसचिव मोहनसिंह सुनारले गरेका थिए । कार्यक्रममा सहभागीलाई संगठनका जिल्ला कमिटी सदस्य भुपेश मल्लले स्वागत गरेका थिए ।