लोकतन्त्रको रक्षाका लागि स्वतन्त्र प्रेस अनिवार्य-पोखरेल
दाङ । नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोखरेलले लोकतन्त्रको रक्षाका लागि स्वतन्त्र प्रेस अनिवार्य शर्त भएको बताएका छन् ।
नेपाल प्रेस युनियन दाङले आयोजना गरेको पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्लाका विभिन्न पदमा निर्वाचितहरुलाई स्वागत तथ बधाई कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले नेपाली प्रेस जगतमा नयाँ सम्भावना र चुनौतिहरु साथसाथै थपिएको बताएका हुन् ।
‘‘समुन्नत समाज निर्माणका लागि प्रेस स्वतन्त्रता आधारभूत तत्व हो’’, उनले भने, ‘‘हिजो लोकतन्त्र ल्याउनका लागि नेपाली प्रेसले अतुलनीय योगदान पुर्याएको छ । तर, हरेक राज्य सञ्चालकहरु प्रेसलाई अंकुश लगाउनुपर्ने चिन्तनबाट प्रेरित छन् ।’’
कार्यक्रममा विशिष्ट अतिथि नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतमले पत्रकारहरुबीचको एकता अहिलेको आवश्यकता भएको बताए ।
अर्का विशिष्ट अतिथि नेपाल प्रेस युनियनका लुम्बिनी प्रदेश अध्यक्ष सुदीप गौतमले पत्रकार महासंघमा सर्वसम्मत नेतृत्व चयनले नयाँ सन्देश दिएको उल्लेख गर्दै कसैलाई पनि निषेध गरेर जान नहुने धारणा व्यक्त गरे ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले सञ्चार संगठनहरु बलियो हुन सकेमा मात्र पत्रकार महासंघ बलियो हुने तर्क राखे । महासंघका केन्द्रीय सदस्य लिला शाहले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि सीपमुलक तालिमको व्यवस्था गर्नुपर्ने बताए ।
महासंघका केन्द्रीय परिषद् सदस्य एवम् नेपाल प्रेस काउन्सिलका सदस्य शरद अधिकारीले पत्रकारहरुले आचारसंहिता कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने बताए ।
महासंघका लुम्बिनी प्रदेश महासचिव पाण्डव शर्माले पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्ला समितिले उचित सहकार्य गरेर पत्रकारहरुको क्षमता विकास, पेशागत सुरक्षा, मिडियाको सुरक्षा र महासंघको संस्थागत विकाशमा लाग्नुपर्ने धारणा व्यक्त गरे ।
महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले आफ्नो टीमलाई सर्वसम्मत बनाउन भूमिका लेख्ने सबैलाई धन्यवाद दिए ।