शिक्षण सिकाइ क्रियाकलापलाई नयाँ युगअनुसार बदल्न जरुरी छ–मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षण सिकाइ क्रियाकलापलाई नयाँ युगअनुसार परिमार्जन गर्न जरुरी रहेको बताएका छन् ।
लुम्बिनी वल्र्ड स्कुलले तिलोत्तमामा आयोजना गरेको तेस्रो टिचिङ–लर्निङ एक्स्पो २०८१ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले आधारभूत तहदेखि नै विद्यार्थीलाई खोज अनुसन्धानमार्फत् सिकाउनुपर्नेमा जोड दिएका हुन् ।
उनले भने, “अध्ययन र अनुसन्धान नयाँ युगअनुसार अगाडि बढाउन जरुरी छ । सिपयुक्त जनशक्तिले स्वरोजगार र उद्यमशीलता बढाउँछ । युगले खोजेको जनशक्ति अब दक्ष र सिपयुक्त हो । त्यसैले शिक्षण प्रणालीको विकास समयानुकूल गर्न आवश्यक छ ।”
दक्ष, आत्मनिर्भर र सिपयुक्त जनशक्ति उत्पादन तीनवटै तहका सरकारहरूको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले विद्यार्थीहरूको क्षमता अभिवृद्धिलाई केन्द्रमा राखेर विद्यालयहरूले शिक्षण सिकाइ अघि बढाउनुपर्ने धारणा राखे ।
उनले थपे, “परम्परागत शिक्षण विधि र कक्षाकोठाबाट मात्रै होइन, प्रविधिले दिएको सुविधालाई उपयोग गर्दै सिक्ने र सिकाउने कामलाई अगाडि बढाउन जरुरी छ । बदलिएको समय र मागअनुसार सिकाइ पद्धतिमा परिवर्तन गर्नुपर्छ ।”
प्रदेश सरकारले गुणस्तरीय र सिपयुक्त जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखेर नीति निर्माण गरेको जानकारी गराउँदै उनले शैक्षिक गुणस्तर वृद्धि सबैको साझा जिम्मेवारी भएको बताए ।
विद्यार्थीको मनोभावना बुझेर शिक्षण गर्नुको महत्व उल्लेख गर्दै उनले विद्यालयहरूले विद्यार्थीको रुचिअनुसार अध्ययन र अनुसन्धानमा संलग्न गराउनुपर्नेमा जोड दिए ।
टिचिङ–लर्निङ एक्स्पोमार्फत् विद्यार्थीहरूले तयार पारेका विज्ञान र प्रविधिसँग सम्बन्धित सामग्री सार्वजनिक गरिएको थियो । मुख्यमन्त्री आचार्यले विद्यार्थीहरूको मिहिनतको प्रशंसा गर्दै यस प्रकारका कार्यलाई निरन्तरता दिन शुभकामना दिए ।
विद्यालयले बालबालिकालाई सशक्त बनाउने उद्देश्यले उनीहरूको शैक्षिक क्षमता र सामाजिक जिम्मेवारीको भावनाको विकास गर्नेगरी अध्यापन गर्दै आएको छ ।