लुम्बिनी प्रदेश निजामती सेवा ऐन पारित गरेकोमा मुख्यमन्त्रीलाई धन्यवाद
दाङ । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति दाङले लुम्बिनी प्रदेश सभाले पुस १७ गते पारित गरेको प्रदेश निजामती सेवा ऐन संशोधन २०८१ लाई स्वागत गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर विशेष धन्यवाद ज्ञापन गरेको छ।
यसअघि, २०८१ साल भदौ २७ गते सर्वसम्मत रूपमा पारित भएको सो ऐनलाई प्रदेश प्रमुखले १५ बुँदे सन्देशसहित प्रमाणीकरणबाट रोकेका थिए ।
चार महिनापछि ऐन हुबहु रूपमा पुन: सर्वसम्मत पास भएपछि अब प्रमाणीकरणमा रोक्न संवैधानिक अवस्था नरहेको ठहर गरिएको छ। यसले कर्मचारीहरूको मागलाई सम्बोधन गरेको महसुस गरिएको छ संगठनले जनाएको छ ।
नेपाल निजामती कर्मचारी संगठनले यो ऐन कर्मचारीहरूको वृत्ति विकासका लागि अत्यावश्यक भएको भन्दै प्रदेश सरकार र प्रदेश प्रमुखलाई बारम्बार ध्यानाकर्षण गराउँदै आएको थियो ।
संगठनका सहसचिव मोहनसिंह सुनारको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री आचार्यलाई भेटेर धन्यवाद ज्ञापन गरेको हो। संगठनले मुख्यमन्त्रीलाई मायाको चिनो पनि प्रदान गरेको छ।
मुख्यमन्त्री आचार्यले अबको एक डेढ महिनाभित्र नियमावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्। यसले कर्मचारीहरूको वृत्ति विकास र सेवा सुधारको मार्गप्रशस्त गर्ने विश्वास लिइएको छ।