नेकपा एमाले केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिक परिस्थितिसहितको विषयवस्तु समेटिएको प्रतिवेदन प्रस्तुत गर्ने छन् ।
बैठकमा प्रतिवेदनसहित समसामयिक विषयमाथि प्रत्येक केन्द्रीय सदस्यलाई धारणा राख्न करिब तीन मिनेटको समय उपलब्ध गराइने महासचिव शंकर पोखरेलले जानकारी दिए । उनका अनुसार राजनीतिक प्रतिवेदनमा आगामी कार्ययोजना, पार्टी सङ्गठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएका छन् ।
बैठकमा तीन सय ५७ केन्द्रीय सदस्य, सात प्रदेशका अध्यक्ष र चारवटा केन्द्रीय आयोगका प्रमुख सहभागी हुनेछन् । दुई दिनभित्र बैठक सक्ने तयारी छ ।