आगामी अधिवेशनमा ३० वटा विधेयक पारित गर्ने सरकारको तयारी
काठमाडाेँ । सरकारले संसदको आगामी (हिउँदे) अधिवेशनमा ३० वटा विधेयक पारित गर्नेगरी काम अघि बढाएको छ ।
अहिले संसदमा १९ वटा विधेयकहरू रहेका छन् । जसमा केही विधेयकहरू सरकारले थप गरेर करिव ३० वटा भन्दा विधेयक आगामी अधिवेशनबाट पारित गर्नेगरी काम सुरू गरेको नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताए । संसदमा रहेका १९ वटा विधेयकबाहेक सरकारले संघीय प्रहरीसम्बन्धी दुई वटा र अर्थ सम्बन्धी केही विधेयकहरू गरी ११/१२ वटा विधेयक संसदमा दर्ता गराउने तयारी गरेको जानकारी दिए।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा प्रमुख सचेतक घिमिरेले संसदको अधिवेशन सकिएपछि सांसदहरु जिल्ला जाने र संसदीय समितिमा गणपूरक संख्या नपुग्दा बैठक बस्न नसकेको स्पष्ट पारे । उनले विधेयकमाथिको छलफल समयमा नसकिँदा प्रदेश र स्थानीय सरकारलाई थप कानून निर्माण गर्न समस्या आइरहेको अवस्थालाई मध्यनजर गरेर सरकारमा रहेका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेले संसदमा विचाराधिन विधेयकमा सहमति जुटाउन संयन्त्र समेत बनाएको छ । संयन्त्रले समितिबाट विधेयक चाँडो पास गर्नका लागि सांसदहरुसँग छलफल गरेर काम अघि बढाइरहेको बताए ।
समितिको बैठकमा एउटै विषयलाई लामो समयसम्म छलफल चलिरहने तर निस्कर्षमा नपुग्ने समस्या रहेको बताए । समितिका बैठकमा सक्रियतापूर्वक सांसदहरुको सहभागिता पनि कम देखिनुले विचाराधिन विधेयक पास हुन नसकेको बताए । २ वर्षमा १७ वटा विधेयक मात्रै पारित हुनु दुखद् भएको बताए । १७ वटामा ६ वटा विधेयक बजेटसँग सम्बन्धित रहेको उल्लेख गरे ।
संसदमा विचाराधिन विधेयकमा छिटो सहमति खोज्ने बारेमा संयन्त्रले दबाब नदिने पनि स्पष्ट पारे । प्रमुख सचेतक घिमिरेले समितिले नै सहमति गरेर ल्याउने तर संयन्त्रले कुनै हस्तक्षेप नगर्ने बताए । संयन्त्रले विधेयकहरु छिटो पास गर्न समिति र सांसदहरुलाई उत्साहित गर्ने उल्लेख गरे । कुनैपनि विषयमा अल्झिएर लामो समयसम्म विधेयक बसेको खण्डमा त्यसको समाधान कसरी गर्ने भन्नेबारेमा भने संयन्त्रले सहजीकरण र समन्वय गर्ने बताए। सहमति जुट्न नसकेर वा विमतिको नाममा लामो समय अड्काएर राखेको खण्डमा भने लोकतान्त्रिक विधि र माध्यमबाट विधेयक टुंग्याइने बताए ।
प्रमुख सचेतक घिमिरेले संसदको आगामी अधिवेशनमा बिजनेसको कमी नहुने पनि स्पष्ट पारे । हिउँदे अधिवेशनबाट ३० वटा विधेयक पारित गर्नसके ठूलो उपलब्धि हुने बताए। पुस अन्तिमसम्ममा संसद अधिवेशन आह्वान हुने विश्वास व्यक्त गरे ।